केन्द्रिय सरकारसंगै लुम्बिनी प्रदेश सरकार परिवर्तन हुने मन्त्री केसीको खुलासा



यमलाल भुसाल, बुटवल ।

लुम्बिनी प्रदेशका आन्तरिक तथा कानुन मन्त्री कुल प्रसाद केसीले केन्द्रिय सरकारसंगै प्रदेश सरकार पनि परिवर्तन हुने बताउनु भयो ।
मन्त्री केसीले केन्द्रको राजनीति प्रदेशमा स्वाभाविक रुपमा पर्ने भएकाले प्रदेश सरकार पनि सोही अनरुप परिवर्तन हुने बताउनु भयो ।

आइतबार बुटवलमा रिपोटर्स क्लव नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री केसीले संघीयता आएपनि प्रदेश र स्थानीयतहलाई व्यवहारिक रुपमा अधिकार संघीय सरकारले नदिएको गुनासो गर्दै केन्द्रिय राजनीति तल्लो तहसम्म हावी रहेको दाबी गर्नु भयोे ।

उहाँले अहंकार र दम्भले कोही अगाडि नबढ्ने भन्दै अहिले मुलुकमा देखिएको समस्या नै त्यसैको प्रतिफल भएको औल्याउनु भयो ।
प्रदेशमा मिडियाका समस्या समाधानका लागी तीन प्रकारले वर्गीकरण गरेर काम गर्ने योजना रहेको उल्लेख गर्दै व्यवसायिक पत्रकारिता, सामुदायिक संचार र पत्रकार सम्वद्ध संघसंस्थाहरुलाई छुट्टाएर काम गर्ने तयारी भइरहेको बताउनु भयो ।

मुलुकको यो अस्थिर अवस्थामा मिडियाको अहम भुमिका रहेको बताउदै नवनिर्वाचित पदाधकारीहरुलाई जिम्मेवार भएर अगाडि बढ्न उहाँले आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले प्रदेश सरकारसगँ सहकार्य गरेर पत्रकारका मुद्धाहरुलाई समाधान गर्ने बताउनु भयो । त्यस्तै रुपन्देही पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल पत्रकार सबैको जीत भएकोले सबैले अपनत्व हुने गरी पत्रकार महासंघ अघि बढ्ने बताउनु भयो ।

कार्यक्रम क्लवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र तेजेन्द्र केसीको संचालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्