राष्ट्रिय झन्डा बोकेर नववर्षको शुभकामना



ध्रुव बस्नेत

नेपाल एकीकरणको अभियान चलाउने राष्ट्र निर्माता पृथ्वीनारायण शाहले आफूले जे–जे राम्रो काम गरे, त्यसैको अनुभवमा ५२ वर्षको उमेरमा मृत्यु शय्यामा हुँदा आफूले गरेका, जानेका, सुनेका कुरा आफ्ना नजिक बस्नेलाई उपदेश दिएका थिए । त्यसमा ‘बूढा मरे भाषा सरे भन्छन्, तिमीहरु सबै छेउ सुनाई गयाको भया तम्रा सन्तानलाई सुनाऊला र यो राजे थामी षानन्’ भनेको पनि पाइयो । त्यस अर्थमा पनि आजका हामी सचेत किसान, राष्ट्रसेवक, प्रशासक, प्राध्यापक, पण्डित, पत्रकार, सुरक्षाकर्मी सबै ज्येष्ठ-श्रेष्ठ नागरिकले वर्तमान समयमा यो नेपाल राज्य थाम्नुपर्छ ।

राज्यविरोधी भ्रष्ट आचारण वा राज्यको विरुद्ध सम्झौता गर्नेहरुसँग पनि लड्न सिकाउनुपर्ने समय आएकोले यो विश्व परिचित हाम्रो नेपाल राज्य अड्याउन हाम्रो नयाँ पुस्तालाई महत्वपूर्ण नयाँ सन्देश हामीले अहिले नदिए कहिले दिने ? हामीले नगरे कसले गर्ने ?
सके दुनियाँलाई, नसके देशवासी र आफ्नो परिवेशलाई सत्मार्गतर्फ डो-याउने हामी ज्येष्ठ*श्रेष्ठको अझ बढी कर्तव्य हो भनेर यस पङ्क्तिकारले भन्दै आएको छ । आउँदो वैशाख १ गते हामी प्रत्येकले राष्ट्रिय झन्डा हात–हातमा लिएर उठाऔँ र छरछिमेकी सबैलाई उत्साह दिन तत्–तत् ठाउँका देवी–देवस्थानमा जाऔँ । यस पङ्क्तिकारले कुरा मात्रै नगरी काम नै गरिआएको छ । वि.सं. २०६८ देखि आफ्नो ठाउँबाट श्री सामाजिक सद्भाव तथा राष्ट्रिय एकता अभियान नेपाल-नागरिक समाजको तुलसहित राष्ट्रिय झन्डा उठाई कार्तिकमा देवकोटा जयन्ती, मंसिरमा गोष्ठी भेला, पुसमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, फागुनमा महाशिवरात्रि, चैत्रमा भँगेरा संरक्षण, वैशाख १ मा राष्ट्रिय झन्डा दिवस आदि मनाउँदै आएका छौं । सम्भव भएसम्म वैशाख १ गते कीर्तिपुरको दक्षिणपट्टिको डाँडाको श्रीचम्पादेवीस्थानको मेलामा राष्ट्रिय झन्डा दिवस मनाउने र समाजसेवी, सीमाविद, संस्कृतिविद्, सेनाविद् एवम् अन्य शिक्षा, शिल्पकारसमेत सम्मान गर्नेजस्तो कार्य गर्दै आइएको छ ।

त्यस बेला वैशाख १ गते चम्पादेवीस्थानमा गरेको राष्ट्रिय झन्डा मेलाको पहिलो कामको प्रभावले मोटरसाइकल, मोटर र आफ्नो कोठामा झन्डा राख्ने प्रचलन आएको हो । त्यसपछि पनि झन्डा मेला चलाउने र यसलाई निरन्तरता दिने यथासक्य काम गर्दै आइरहेको छौँ । त्यसपछि मात्र २०७१ असोजमा हालको नेकपा पार्टी संसदीय दलको बैठकमा नेकपा अध्यक्ष केपी शर्मा ओलीले एकताको प्रतीकको रुपमा रहेको राष्ट्रिय झन्डाको लोगो एमाले सांसदलाई लगाउन निर्देशन दिँदै वितरण गरेको भन्ने प्रचारमा आएको पाइन्छ । लाग्छ, त्यो हाम्रै प्रभाव हो । प्रस्ट भनौँ, हाम्रो यो अभियान कुनै विदेशी संघसंस्थाको वा सरकारी वा कुनै राजनीतिक दलको सहयोगमा चलाइएको छैन ।२०७२ साल असोज ३ गतेदेखि लागू भएको वर्तमान संविधान बनाउँदा जुन सुझाव मागिएको थियो त्यही बेला फर्पिङ स्कुलमा आएको टोलीसमक्ष संविधानमा नै हामीले ‘सामाजिक सद्भाव तथा राष्ट्रिय एकता’ उल्लेख हुनुपर्छ भनेर सुझाव दिएका थियौँ । यस बखत हामीले राष्ट्रिय एकता प्रदर्शन गर्न सकेनौं भने मुलुक दुर्घटनामा पर्ने खतरामा छ भनेका थियौँ ।

यो संविधान कार्यान्वयनमा आएपछि जनकपुर उपमहानगरपालिकाले आयोजना गरेको मोदीको नागरिक अभिनन्दन कार्यक्रममा प्रयोग भएको नेपाली झन्डाको आकार र प्रकृति संविधानको अनुसूची १ ले तोकेको मापदण्डभन्दा भिन्न आकारमा प्रदर्शन गरिएको थियो । त्यसपछि हाम्रो यहाँ नेपाल आमा बचाउने उद्देश्यको ‘राष्ट्रिय एकताको महत्व’ जो, जसले, जसरी नेपाली समाजमा प्रचारप्रसार गर्ने कार्य गर्नुपर्ने हो त्यो कुनै पेसागत बुद्धिजीवी वा नारी समाजमा चर्चा एवं प्रचारप्रसारको कार्य हुन सकेको छैन । राजनीतिक दलहरु अन्योलमा भए पनि प्रायः ठूलाबडा झन् अन्योलमा रहेका छन् । झन् आन्तरिकरुपमा नीतिगत भ्रष्टाचार एवं बाह्यरुपमा अन्य विविध दबाब थेग्न गाह्रो परेको छ ।हाम्रो शिरमा झन्डाको पहिरन लगाउन पाइन्छ, हातमा बोक्न पाइन्छ । झन्डालाई त्यसभन्दा पृथक् ढंगले प्रयोग गर्न हुन्न । झन्डा अत्यन्त सम्मानको विषय हो । यसले राष्ट्र, राष्ट्रिय एकता, राष्ट्रका उपलब्धि, सबै चिजलाई दृढतापूर्वक अभिव्यक्ति गरिरहेको हुन्छ । २०७६ असोज ३ गतेको संविधान दिवस मनाउने क्रममा ‘हरेक टोल, घर, गाडी, पसलमा झन्डा होस्, घर–घरमा दीपावली मनाइयोस्’ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नाममा गोरखापत्रमा लेख लेखेरै प्रचार गरेको कुरा हामीले आफैं बुझ्न सक्नुपर्छ ।

कालापानी क्षेत्रमा भारतले नेपाली भूमि मिचेकोमा सबै राजनीतिक दल एकमत देखिएका छन् । उनीहरुले उच्चस्तरीय कूटनीतिक पहल गरी फर्काउन सरकारलाई अभिभारा दिएको र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘अभूतपूर्व राष्ट्रिय सहमति भएको छ, यसले सरकारलाई बलियो आड–भरोसा मिलेको छ’ भनेको कुरा पनि प्रचारमा आएको पाइयो । त्यस्तै फेरि मंसिरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई ‘ट्रान्जिट प्वाइन्ट’मा मात्र प्रयोग नगरी विदेशी साझेदारीको रुपमा लिन आग्रह गर्दै ‘देशमा अहिले राष्ट्रिय एकताको वातावरण निर्माण भएको र भारतमा बलियो सरकार छ, यही बेला सीमा विवाद समाधान गर्दा सजिलो हुन्छ’ भन्नुभएको पाइयो । बरु अहिलेको राजनीतिक परिवेशमा प्रधानमन्त्री धर्मराई कोठे भाषण दिइरहेको अवस्था छ ।हालसम्म देशभक्त नेताको सरकार आउन सकेको छैन । यो चुनाव पद्धति ठीक नभएर पनि होला । स्थानीय सरकारको भूमिका निर्वाह गर्नेले पनि गर्नुपर्ने कर्तव्य नगरी धर्म छोडेको भन्ने आरोप लागेकै छ । यस अर्थमा यो बखत देश थाम्न त परै जाओस्, मुलुक नै असफल नहोला पनि भन्न सकिन्न । देशको संकट टरेको छैन । राष्ट्रसेवक हामी ज्येष्ठ-श्रेष्ठ किसान, पण्डित, प्रशासक, प्राध्यापक, पसले, पत्रकार सबै नागरिक आफ्नो परिवारको नागरिक समाजको एवं आफ्नो देशको याने विश्वकै परिपक्व सभ्य नागरिक हौं । हामीले आफ्नो देशको प्रकृतिअनुसार बनेको संस्कृति, चाडपर्व, नयाँ वर्षको महत्व थामिरहेका छौं । हामीले निराशा र कुण्ठा पाल्नुहुन्न । असल संस्कृति हाम्रो ठाउँबाट हामीले नै शुरु गर्नुपर्छ । अनुगमन एवं आत्मसमीक्षा पनि आफैंले गर्नुपर्छ ।

यस्तो सृजनात्मक कार्य हामीले नगरे कसले गर्दछ ? हाम्रा नयाँ पुस्तालाई नयाँ वर्षको बिहान नेपालको शिर उठाउने गरी नयाँ र असल सन्देश हामीले नदिए कसले दिन्छ ? हाम्रा नयाँ ठिटाहरु विदेशमा पलायन भइरहेको अवस्था मूलतः राष्ट्रिय हितमा उभिन नसक्ने र भ्रष्टाचारमा लिप्त हुने नेताका विरुद्ध आलोचना हामीले नगरे कसले गर्छ ? हामीले नेपाल थाम्न र सार्वभौमिकताको स्वामित्व संरक्षण गर्न लठ्ठी टेकेर भए पनि वैशाख १ गते राष्ट्रिय झन्डा फहराउँदै नयाँ पुस्तालाई शुभकामना आदानप्रदान गर्ने संस्कार नदिए कसले–कहिले दिने ?समाज, राष्ट्रिय एकता, अखण्डता एवं सुसम्बन्धका लागि प्रत्यक वैशाख १ गते अर्थात् नयाँ वर्षको बिहानै आफूसँग भएको नेपालको राष्ट्रिय झन्डा फहराउँदै नजिकको देवी–देवस्थल वा त्यस्तै महत्वपूर्ण ठाउँमा जाऔं । नयाँ पुस्तालाई सिर्जनात्मक असल काम गराउन नयाँ प्रचलन बसाल्ने संकल्प र शुभकामना आदानप्रदान गरौँ । यस कार्यले हामी देशभक्त नेपालीलाई वर्षभरि नै मेलमिलापको थप शक्ति प्रदान गर्नेछ । साथै वैशाख १ गते नयाँ वर्षको आफ्नै महत्व प्रस्टिँदै जान्छ ।
(लेखक पूर्व–सह–प्रशासक एवं त्रि.वि. निवृत्त प्राध्यापक–कर्मचारी केन्द्रीय कार्य समितिको सचिव हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्