दश वर्षभित्र नेपालको अर्थतन्त्र सय अर्ब डलर पुर्‍याउने लक्ष्यसहित महासंघले जारी गर्‍यो ‘ भिजन पेपर–२०३०’



नेपाल समाचारपत्र , काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघले आगामी दश वर्षभित्र नेपालको अर्थतन्त्र सय अर्ब डलर पुर्‍याउने लक्ष्यसहित ‘ भिजन पेपर–२०३०’ सार्वजनिक गरेको छ।यो भिजन पेपरमा वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने परिकल्पना सहित एक सयवटा योजनाहरु समावेश गरिएको छ।

महासंघको ५५औं वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस–२०७७ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आर्थिक रुपान्तरण–२०३० पुस्तक (भिजन पेपर) को सार्वजनिक गर्नुभएको हो ।महासंघको वर्तमान नेतृत्वले अवको एक दशकभित्र मुलुकको आर्थिक अवस्था कस्तो हुने भन्ने परिकल्पनासहित भिजन पेपर तयार गरेको हो।भिजन पेपरमा मुलुकको अर्थतन्त्र दोहोरो अंकमा वृद्धि गर्ने, आगामी दश वर्षभित्र मुलुकको अर्थतन्त्र १ सय अर्व डलरको पुर्‍याउने र दीगो उच्च आर्थिक वृद्धिमार्फत अतिरिक्त २२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ।महासंघका अध्यक्ष शेखर गोल्छाले प्रष्ट भिजन लिएर अर्थतन्त्रको सुधारका लागि लाग्न आवश्यक रहेकाले त्यसैको सुरूवात महासंघले तयार पारेको राष्ट्रिय आर्थिक रूपान्तरण २०३० रहेको बताउनुभयो । उहाँले ती लक्ष्य पूरा गर्ने बलियो आधार र सुझावहरुसमेत भिजन पेपरमा दिइएको बताउनुभयो ।

आगामी दशकमा थप २२ लाखले रोजगारी पाउनेछन् । हाल व्यापार घाटा र अर्थतन्त्रको अनुपात करिब २८ प्रतिशत छ । १० वर्षमा आधा घटाउन सकिन्छ’ अध्यक्ष गोल्छाले भन्नुभयो । महासंघले तयार पारेको १०० योजना कार्यान्वयनमा सरकारको सहकार्य आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।भिजन पेपर इमानदारितापूर्वक कार्यान्वयन हुँदा आगामी दशकमा एक सय ५० अर्ब डलरभन्दा बढी लगानी हुने गोल्छाले बताउनुभयो । जसमध्ये करिब एक सय आठ अर्ब डलर निजी क्षेत्रबाट लगानी हुने उहाँले बताउनुभयो । यो भिजन पेपर कार्यान्वयन हुँदा अहिलेको करिब ३४ अर्ब डलरको अर्थतन्त्र १०० अर्ब डलरमा पुग्ने उहाँको भनाई थियो ।महासंघले अगाडि सारेको राष्ट्रिय आर्थिक रुपान्तरण २०३० पुस्तक (भिजन पेपर) मा सयवटा योजना सहितको भिजन पेपर तयार गरेको थियो । भिजन पेपरमा समावेश भएका योजनाहरु दुई वर्षभित्र सकिने र दीर्घकालीन रुपमा महत्व भएका योजनहरु समावेश गरेको छ।

ती लक्ष्यलाई पूरा गर्ने बलियो आधार र सुझाबहरुसमेत भिजन पेपरमार्फत दिइने छ। भिजन पेपरको कार्यान्वयनमा महासंघले वार्षिक साधारण सभामा नेपाल सरकारको प्रतिवद्धतासमेत लिने छ।५५ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०७७ को मुख्य थिम ‘ समृद्धिका लागि सम्मानित निजी क्षेत्रः समुन्नत नेपाल’ रहेको छ।उद्घाटन समारोहपछि विभिन्न तीनवटा सत्रहरुमा भिजन पेपरका बारेमा सामूहिक छलफल गरिएको थियो। सोमबार महासंघको बन्द सत्र आयोजनासहित साधारण सभाका सम्पूर्ण कार्यक्रम सम्पन्न हुने महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्