एपीएफले जित्यो ललितपुर मेयर महिला च्याम्पियनसिप



नेपाल समाचारपत्र, काठमाडौं नेपाल एपीएफ क्लबले ‘ललितपुर मेयर महिला च्याम्पियनसिप टी २० क्रिकेट प्रतियोगिता’को उपाधि शनिबार सहजै जितेको छ ।

त्रिवि मैदानमा भएको एकपक्षीय फाइनल खेलमा विभागीय टिम एपीएफले सुदरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । यो उपाधिसँगै विजेता एपीएफले ३ लाख तथा उपविजेता सुदूरपश्चिमले १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।सुदूरपश्चिमले विजयी लक्ष्य मात्र १ सय ७ रनको दिएको थियो । उक्त लक्ष्य एपीएफले १६.२ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । टिमको जितमा ओपनर ज्योति पाण्डेले सर्वाधिक ३६ रन योगदान दिइन् । त्यस्तै कप्तान सीता रानामगरले २७ रन बनाइन । इन्दु बर्मा र ममता चौधरी क्रमशः १९ र १५ रन जोडेर नटआउट रहेका थिए ।

एपीएफका ओपनर ज्योति र कप्तान सीताले शुरुवात नै राम्रो गरेपछि विपक्षी टिमको लागि खेलमा फर्कन कुनै गुन्जाइस भएन । उनीहरूले पहिलो विकेटका लागि ११ ओभरमै ६९ रनको शानदार साझेदारी गरेर टिमलाई जिततिर अग्रसर गराएका थिए । उनीहरू दुबै जना रनआउटका सिकार भए । सीता रनआउट भएर १० रन जोड्दा ज्योति पनि रनआउट भएकी थिइन् । यसपछि इन्दु र ममताले थप विकेट पतन हुन नदिई टिमलाई जित दिलाएका थिए ।यसअघि, टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६ रनको योगफल तयार गरेको थियो । टिमका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन जोडिन् । अर्को इन्डबाट लगातार विकेट पतन भइरहेको स्थितिमा उनले नटआउट रहँदै टिमलाई सम्मानजनक स्कोरमा पु-याएकी थिइन् । ओपनर रेवती धामी र डली भट्टले खासै राम्रो साझेदारी गर्न सकेनन् । १४ रन जोड्दा रेवती व्यक्तिगत १० रन बनाएर आउट भएकी थिइन् । उनलाई रेखा रावलले आउट गरेकी थिइन् ।
यसपछि, ४४ रन हुँदा डली पनि पवेलियन फर्किन् ।

उनलाई करुणा भण्डारीले आफ्नै बलमा क्याच आउट गरेकी थिइन् । डलीले १४ रन बनाएकी थिइन् । यस्तै, कविता कुँवर १३ रन जोडेर आउट भएपछि क्रिजमा आएका अन्य खेलाडीले दोहोरो अंक पनि छुन सकेनन् । सुनीता लुहार शून्यमै आउट भइन भने कप्तान ऋतु कनौजिया ४ रनमै पभेलियन फर्केकी थिइन् । यस्तै कविता जोशी र मन्जु बोकटीले ३÷३ रन मात्रै जोडेका थिए । एपीएफका बलरमा करुणा भण्डारी, सुष्मा श्रेष्ठ, रेखा रावल, सीता रानामगर र बिना बुढामगरले १÷१ विकेट हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्