अजर र पूर्णिमालाई सुगम गायकगायिकाको अवार्ड



योगेशलाई लाइफटाइम, कुन्तीलाई संगीत साधना, माण्डवीलाई संगीतरत्न र अनन्तलाई पत्रकारिता सम्मानगायकगायिका अजर जंगम र पूर्णिमा तामाङ यस वर्षको सर्वोत्कृष्ट सुगम संगीत गायकगायिकाको अवार्ड चुम्न सफल भएका छन्। विन्ध्यवासिनी म्युजिक प्रालि र विन्ध्यवासिनी फाउन्डेसनद्वारा शनिबार राति राजधानीमा आयोजित ११औं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्डमा जंगम र तामाङले यो विधाको अवार्डलाई आफ्नो बनाएका हुन्।

चमकदमकका साथ राजधानीको दरबारमार्गस्थित पाँचतारे होटल याक एन्ड यतिम मुक्तिनाथ विकास बैंकको प्रस्तुतिमा आयोजित विन्ध्यवासिनी म्युजिक अवार्डमा यस वर्ष ख्यातिप्राप्त गायक योगेश वैद्यलाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ। गायक बैद्य स्वास्थ्यका कारण अवार्ड समारोहमा सहभागी हुन नसकेपछि उनलाई उनकै निवासमा पुगेर सम्मान अर्पण गरिएको कार्यक्रममा प्रस्तुत भिडियोमा जानकारी गराइएको थियो। गायक वैद्यलाई नगद १ लाख रुपियाँसहित कार्यक्रमका आयोजकका साथमा विन्ध्यवासिनी फाउन्डेसनका सल्लाहकारहरुले निवासमै पुगी सम्मान अर्पण गरेका थिए। त्यसै गरी, लोकप्रिय गायिका कुन्ती मोत्तानलाई नगद ५० हजार रुपियाँसहित विन्ध्यवासिनी संगीत साधना सम्मानबाट सम्मान गरिएको समारोहमा अर्की गायिका माण्डवी त्रिपाठाीलाई २५ हजार रुपियाँसहित विन्ध्यवासिनी संगीतरत्न सम्मानबाट सम्मानित गरिएको थियो। त्यस्तै पत्रकार अनन्त वाग्लेलाई नगद २५ हजार रुपियाँसहित विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मानबाट सम्मानित गरियो।

गीत–संगीत र नृत्य प्रस्तुतिका साथ रोचकरूपमा सम्पन्न अवार्ड समारोहमा धु्रवप्रसाद अम्गाईंले सर्वोत्कृष्ट गीतको अवार्ड चुमे भने बिबि अनुरागीले संगीतकारको अवार्ड उचाले। मोहनकुमार खत्री सर्वोत्कृष्ट गीतकार र उदयराज पौडेल एरेन्जरको अवार्ड विजेता भए। पप संगीततर्फ धन किरण गुरुङ र सिर्जना कार्की सर्वोत्कृष्ट पप गायकगायिकाको अवार्ड जित्न सफल भए। त्यसै गरी, गायक गायिका दम्पती रामचन्द्र काफ्ले र जुनु काफ्लेले युगल गायनमा बाजी मारे भने शिरीष देवकोटा र सरिता कार्की लोकदोहोरी गायकगायिका, प्रकाश सपुत लोकदोहोरी भाका, नवराज पन्त लोकदोहोरी रचना, करण न्यौपाने लोकदोहोरी गीतको विजेता भए। त्यसै गरी दुर्गेश थापा र प्राची लामाको दम्पती पप तथा आधुनिक गीतको म्युजिक भिडियो मोडल, काजिश श्रेष्ठ लोकदोहोरी म्युजिक भिडियो निर्देशक, देवेन्द्र पाण्डे सुगम संगीत म्युजिक भिडियो निर्देशक, आशिरप्रतापजंग केसी र सारिका घिमिरे लोकदोहोरी म्युजिक भिडियो मोडलको अवार्ड चुम्न सफल भए। पूर्वनेपाल सुन्दरी सुगरिका केसीद्वारा सञ्चालित समारोहमा आधुनिक तथा फिल्मी गीत गायनमा चर्चित नाम बनेकी गायिका समीक्षा अधिकारीले लोक तथा दोहोरी गीततर्पmको नवप्रतिभा पुरस्कारलाई आफ्नो बनाइन्।

समारोहमा नायकनायिका पल शाह र अनु शाहले पपुलर अवार्ड चुमे भने दुबईका गैरे विवशलाई अन्तर्राष्ट्रिय संगीत सम्मान प्रदान गरियो। त्यस्तै, नरेश खाती पब्लिक च्वाइस अवार्ड तथा गायक रमेशराज भट्टराई र गीतकार बी पाण्डे जुुरी अवार्ड विजेता भए।समारोहमा लाइफटाइम अचिभमेन्ट विजेता गायक योगेश वैद्यको सम्मानमा सुमन श्रेष्ठ र अजर जंगमले योगेशका तथा संगीत साधना सम्मान विजेता गायिका कुन्ती मोक्तानको सम्मानमा उनको गायिका छोरीहरु शीतल र सुवानी मोक्तानले कुन्तीका गीत गाएर सुनाएका थिए। गायक एम बराल, रामचन्द्र काफ्ले र रमेशराज भट्टराईले आफ्नोगीत प्रस्तुत गरेर दर्शकलाई जोस्याएका थिए। त्यसै गरी, एलिना रायमाझी, शंकर बिसी र उनको समूह, दुर्गेश थापा र उनको समूह तथा काजिश श्रेष्ठ र उनको समूहले नृत्य प्रस्तुत गरेर माहौल तताएका थिए। अवार्ड प्रतिस्पर्धाअन्तर्गत कुल २४ विधामा प्रदान गरिएको थियो। विन्यवासिनीकी अध्यक्ष लिना शर्मा रेग्मीले कोरोना जोखिमका कारण मापदण्ड अपनाएर पनि अवार्ड कार्यक्रमलाई निरन्तरता दिइएको बताइन्। उनले सबै सहयोगीप्रति आभार व्यक्त गरिन्।

 

प्रतिक्रिया दिनुहोस्