म्याग्दीमा पूर्ण सरसफाइको अभियानलाई निरन्तरता दिने डिवासिसीको निर्णय



प्रताप बानियाँ, म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीमा पूर्ण सरसफाइको अभियानलाई निरन्तरता दिने जिल्लास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति (डिवासिसी)को वैठकमा निर्णय भएको छ । जिल्ला समन्वय समितिको आयोजना, युएसआईडीको आर्थिक सहयोग र मिलन म्याग्दी तथा सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा पूर्ण सरसफाई अभियानको पैरवी कार्यक्रममा सरसफाइलाई निरन्तरता दिने निर्णय गरिएको हो ।

शुक्रबार सदरमुकाम बेनीमा (डिवासिसी)का संयोजक एवं जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यस्तो निर्णय गरिएको जनाइएको छ । उक्त कार्यक्रममा पोषण अवस्था सुधारका लागि खानेपानी, सरसफाई तथा स्वच्छताको व्यवहार परिवर्तन गर्न पूर्ण सरसफाई अभियानको पैरवी कार्यक्रम गरिएको थियो । पूर्ण सरसफाई अभियान सञ्चालनका लागि जिल्लाको सबै स्थानीय तहमा वास फोकलपर्सन तोक्ने र जिम्मेवारी दिने निर्णय भएको छ ।

यसैगरी पूर्ण सरसफाइको अभियानलाई निरन्तरता दिने र पालिका तथा वडास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गर्ने निर्णय भएको सुआहारा कार्यक्रमका फिल्ड संयोजक बालकुमारी पुनले जानकारी दिएकी छन् । कार्यक्रमको समापन गर्दै जिसस प्रमुख केसीले सरसफाइसम्बन्धी योजनालाई नगरपालिका र गाउँपालिकाले आ–आफ्नो योजनामा समावेश गरेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले विगतमाभन्दा अहिले योजना निर्माण तथा कार्यान्वयनका लागि स्रोत समेत उपलब्ध भएको बताएका छन् ।

कार्यक्रममा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिवाकुमारी पुनले सुआहारा कार्यक्रमको परिचय तथा पोषणको महत्व, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख कुमार खड्काले म्याग्दी जिल्लाको खानेपानी र सरसफाइको अवस्था तथा पूर्ण

सरसफाइसम्बन्धी जानकारीका विषयमा सहजीकरण गरेका थिए । त्यस्तै सुआहाराका वास अधिकृत टिका उप्रेतीले सुआहाराले खानेपानी, सरसफाई तथा स्वच्छतामा गरेका प्रयासहरु एवं राष्ट्रिय नीति र कार्यक्रमको विषयमा सहजीकरण गरेकी थिइन् ।

जिसस प्रमुख देवेन्द्र केसीको अध्यक्षता र सुआहाराका फिल्ड संयोजक बालकुमारी पुनको सञ्चालन र जिल्ला समन्वय अधिकारी जानुका सुवेदीको स्वागतमा सम्पन्न कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, योजना अधिकृत र जिल्लास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका पदाधिकारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्