मनमा राख्नुस् कि एउटा चमत्कार गर्छु



यो हाम्रो त्यही मुलुक हो, जहाँ सीता, भृकुटी तथा गौतम बुद्धजस्ता भगवान्हरुले जन्म लिए । यसले गर्दा नेपाली नागरिकलाई गौरवको अनुभव हुन्छ । अब समयको लीलालाई हेर्नुस्, यही ठाउँमा भ्रष्टाचार गर्ने, अरुको पैसा पचाउने र कुम्ल्याउने, ठगी गर्ने, ज्यान लिने आनन्दका लागि इच्छा विपरीत बलात्कार गर्नेजस्ता अघोरी र नालायकहरु पनि हाम्रा मुलुकमा नै छ । कसैले सोचेको थिएन होला, यस्तो सोझो समाज भएको मुलुकमा पनि यस्ता राक्षसहरुले पनि जन्म लिन्छन् भनेर । हुन त यस्ता कुप्राणीहरु नभए पनि देश र संसारको नाटक चल्दैन । तैपनि यस्तो अवस्थामा पनि सरकार, कानुन, प्रशासन, समाज आदिले ‘लाटाले केरा हेरे’ सरह चलिराखेको छ हाम्रो देश । यसको कारण हो कच्चा शिक्षा र अल्लारे समाज ।

लोकतन्त्रपश्चात् हाम्रो जस्तो मुलुकमा अहिले आएर विकास नै भएन भन्न पनि मिल्दैन । विकास भएको छ । तर पनि समाजले सुरक्षाको अनुभूति गर्न सकेन । कारण सधैँ राजनीतिक कलह र फितलो कानुनले गर्दा यसतर्फ ध्यान दिने सरकारी निकायहरुमा फुर्सद नहुनु र इच्छाशक्ति नहुनु हो । साथै प्रायः सरकारी निकायहरुमा लेनदेनको कुरा धेरै र अनुशासनहीन तथा बजेटअनुसार काम गर्न नसक्नुलाई पनि यसको कारण मान्न सकिन्छ । सरकारहरु भागवण्डा, स्वार्थ र बाध्यताले गर्दा मौन छन् यहाँ । यो मुलुकमा जुनसुकै सरकार आए पनि के सरोकार भयो र ? जनताको चाहना नै देशमा सधैँ सस्तोमा उपभोग्य सामग्री प्राप्त होस् भन्ने हो । साथै सुरक्षा र शान्ति भइरहोस् भन्ने हो । नागरिकलाई अरु केही चाहिँदैन ।त्यसकारण सरकारहरुको पहिलो कर्तव्य नै नरम कानुनलाई दह्रो बनाउनु हो । देशमा लोकतन्त्र ल्याए पनि कुनै सरकारले कानुनलाई दह्रो बनाउन सकिराखेका छैनन् । देशमा नागरिकहरु खुस नहुनुको कारण यही नै हो । कुन बेला के घटना हुन्छ, यही चिन्ताले नागरिकलाई पिरोलिराखेको छ । त्यसकारण अपराध ठूलो होस् वा सानो, कडा कानुनको नामले नै तर्सने कानुन तर्जुमा गर्नुपर्दछ । अरु कडा मुलुकहरुको सरह, यी कुराहरुका लागि प्रतिपक्षहरु पनि कलह, रिस, डाह आदि छोडी सत्ता पक्षसँग समन्वय गरेर अघि बढ्नु आवश्यक छ ।

यति मात्र होइन, नेताहरुको संख्या कम हुनु र विलासिता कम हुनको लागि पनि सबै पक्ष लाग्नु आजको आवश्यक हो, नकि सधैँ एक–अर्कालाई दोषारोपण गरिराख्नु हो । जब देशमा नयाँ सरकार बन्छ तब प्रधानमन्त्री सर्वेसर्वा हुन्छ । यस्तो अवस्थामा एउटा राम्रो प्रधानमन्त्रीको काम भनेको पूर्वाधार विकास तथा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग व्यवसाय आदिका लागि राम्रा–राम्रा कुरालाई अपनाएर भिजन बनाउनु । प्रायः हाम्रो सरकार यही कमी–कमजोरीका कारण असफल हुने गर्दछ ।अब यो वर्तमान सरकारलाई भने हेर्न अझै बाँकी छ । किनकि यहाँ काम थोरै र कुरा धेरै हुन्छ । अहिले आएर मुलुकमा सोच्दै नसोचेका अपराधका घटनाहरु हुने गरेको प्रत्येक नागरिकले अनुभव गरेका छन् । यसमा राज्य, समाज तथा यहाँका कानुन सबै उत्तिकै भागीदार छन् । यदि सबै पक्ष आफ्नो ठाउँमा सही हुने हो भने बिस्तारै हाम्रो जस्तो सानो मुलुकमा दिनहुँ भ्रष्टाचार र बलात्कारजस्ता घटनाले सबैलाई टेन्सन हुँदैनथ्यो होला । अब आएर पनि यदि यस्ता खराब संस्कार परिवर्तन नहुने हो भने हामीले यति मात्र भन्न सक्छौं– ल मोज गर है यो देशमा, तिमीहरुजस्तै दुईखुट्टे भलाद्मी राक्षसहरुकै राज छ । तर तिमीहरुले गरेको कुकर्मको भर्पाइ यही जुनीमा हुनेछ । अझै पनि समय छ, परिवर्तन होऊ ।

जे होस्, हाम्रो देशमा राम्रा मानिस, बुद्धिजीवी, पढेलेखेका मानिसहरु पनि धेरै छन् । यिनीहरुलाई हामी यतिसम्म भन्न सक्छौं कि जीवनमा बाँचुन्जेल एउटा एड्भेन्चर चमत्कार गर्नुस् आफ्नो क्षेत्रमा, मुलुकको हरेक समस्याको समाधान हुँदै जानेछ । चाहे त्यो कडा कानुनको लागि होस् या मानिसको झगडालु सोच, सानो मन, कुबुद्धि आदिमा परिवर्तन ल्याउनमा होस् ।अन्त्यमा एउटा महत्वपूर्ण कुरा के छ भने, प्रधानमन्त्रीले जसरी पशुपन्छीमा नेपाली जनताका लागि आत्मनिर्भरताको तर्जुमा गरेका छन्, त्यसरी नै कृषि, उद्योग, फोहोरमैला, वधशाला, राजमार्ग, मनोरञ्जन क्षेत्र आदिमा गर्नुप¥यो । यसका लागि राम्रो नीति सरकारले ल्याएर विकास हुने हो भने कोही पनि नेपाली युवापुस्ता रोजगारको लागि विदेशमा धाउनुपर्ने छैन । यसबाहेक राष्ट्रिय धन कसरी बचाउन सकिन्छ, त्यसतिर पनि सरकारले ध्यान दिनु जरुरी छ । विलासिता, भत्ता, सहुलियत आदिमा बजेट खेर फाल्ने, बेरुजु बढाउने, सानो मुलुकमा धेरै अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउने आदि कुराहरु बन्द नै गरिनुपर्छ ।
– रमेशकेशरी वैद्य, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्