सहकारी कप : मिलन बने च्याम्पियन



न्युज अफ नेपाल, ललितपुर ।

दोलखा चेसका युवा खेलाडी मिलन लामा ६४औं सहकारी दिवसको उपलक्ष्यमा आयोजित गणेशमान सिंहस्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामका विजेता बनेका छन् । विहीबार सम्पन्न फाइनल खेलमा मिलन र नोभा साकोस ललितपुरका सुदिप तामाङ्गबीचको क्लासिकल खेलमा दुबैले एक एक खेल जितेका थिए । त्यसपछि ३ मिनेट २ सेकेण्डको ब्लिट्ज टाइब्रेकमा मिलनले दुबै खेल जितेर च्याम्पियन बने । मिलनले यामाहा मोटरसाइकल, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता सुदिपले नगद रु.६०,००० हात पारे ।

ललितपुरको ताम्रकार भवनमा संचालन भइरहेको प्रतियोगितामा सुन्दर साकोस हेटौडाका एशियन एमेच्योर चेस च्याम्पियन कृष्ण थापाले गजुरमुखी चेस क्लब राजन सुबेदीलाई टाइब्रेकमा जितेर तेश्रो भए । कृष्णले नगद ३० हजार र राजनले नगद २० हजार पाए ।

ललितपुर स्पोर्टस् क्लब र ताम्रकार समाजद्धारा संयुक्त रुपमा आयोजित प्रतियोगिताको लिगतर्फ दोलखा चेसका सुमित पन्त ७ अंकका साथ प्रथम भै नगद २५ हजार जित्न सफल भए । त्यसैगरी समान साढे ६ अंक भएपनि प्रोग्रेसिव टाइब्रेकअनुसार गजुरमुखी चेस क्लबका फिडेमास्टर रिजेन्द्र राजभण्डारी दोश्रो भै १५ हजार, गजुरमुखीकै प्रकाशचन्द्र नेपाल तेश्रो भई १० हजार, ललितपुरका राजन पुरी चौथौं ८ हजार, सुर्योदय साकोस ललितपुरका सुमन राइ पाँचौं ७ हजार र सद्भाव कृषि सहकारी लुभुका अशोकमोहन श्रेष्ठ छैटौं भइ ६ हजार नगद पुरस्कार प्राप्त गरे ।

त्यस्तै प्रतियोगितामा समान ६ अंक भएपनि प्रोग्रसिव टाइब्रेक अनुसार माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लब जोरपाटीका फिडेमास्टर क्षितिज भण्डारी, करुणामय साकोस ललितपुरका प्रेमकृष्ण महर्जन, कामना साकोसका फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठ, गोल्डेन गेट कलेजका निकेन कुसाथा, हेटौडा चेस क्लबका सुरवीर लामा, एभरेष्ट चेस एण्ड सोसियल क्लब जोरपाटीका अर्जुन घिमिरे, मुस्कान साकोस ललितपुरका सुशिल चौधरी, काठमाण्डौ चेस क्लबका फिडे ट्रेनर केशव श्रेष्ठ र जनता साकोस ललितपुरका सजिन महर्जन उत्कृष्ठ पन्ध्रौं भए । उनीहरुले जनही नगद ५ हजार पाए ।

यस प्रतियोगितामा महिलातर्फ करुणामय साकोस ललितपुरकी विनिता कपाली प्रथम भइन् । उनले नगद १० हजार हात पारिन् । त्यस्तै प्रचलित साकोस ललितपुरकी अनिषा न्यौपाने दोश्रा भै नगद ८ हजार प्राप्त गरिन् भने मिशन युथ क्लब टोखाकी पूर्णिमा गुरुङ्ग तेश्रा भइन् ।

यस्तै पूर्व नेपाल त्याम्पियन बद्रिलाल नेपाली भेट्रान उत्कृष्ठ र ओलम्पियाड खेलाडी नेशनल डेभलपमेन्ट साकोस ललितपुरका दीर्घराज जोशी भेट्रान दोश्रा भए । उनीहरुले क्रमशः ५ र ४ हजार नगद पुरस्कार पाए । १६ बर्षमुनी उमेर समुहमा मेरिडियन इन्टरनेशनल स्कुल बालुवाटारका १२ बर्षीय छात्र पुरुषोत्तम सिलवाल प्रथम, श्री राज एकता सन्जाल कपनका सम्पूर्णराज न्यौपाने दोश्रा र मिशन युथ क्लब टोखाका आश्चर्य चौधरी तेश्रा भए । उनीहरुले क्रमशः ५,४ र ३ हजार नगद पुरस्कार हात पारे ।

१८०० मुनी रेटिङ्गसमुहमा सिलुलाइट साकोस लुभुका कमल श्रेष्ठ प्रथम, स्वर्णीम साकोस ललितपुरका सुश्रुत दाहाल दोश्रा र एभरेष्ट चेस एण्ड सोसियल क्लब जोरपाटीका मिनबहादुर लामा तेश्रा भइ क्रमशः नगद ५,४ र ३ हजार पाए । १६०० मुनी रेटिङ्गसमुहमा नेपाल टेलिकमका गोबिन्द खड्का प्रथम, काभ्रेका खोमप्रसाद तिमिल्सिना दोश्रा र सहश्रधारा साकोस बानेश्वरका हेम भण्डारी तेश्रा भए । उनीहरुले क्रमशः नगद ५,४ र ३ हजार पाए

प्रतियोगिताका विजयी तथा सहभागी खेलाडीहरुलाई आयोजक क्लबका अध्यक्ष एवं नेपाल बुद्धिचाल संघका महासचिव हेराकाजी महर्जनको सभापतित्वमा एक समारोहबीच प्रमुख अतिथी नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठ, फिडे इथिक्स कमिटी सदस्य राजेशहरि जोशी, नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठ लगायतले ट्रफि, मेडल, प्रमाणपत्र एवं नगद पुरस्कार वितरण गरे ।

प्रतिक्रिया दिनुहोस्