ब्राजिलमा एकैदिन ४ हजार भन्दा बढी संक्रमितको मृत्यु



रियो दि जेनेरियो, (एजेन्सी) । 

पहिलोपटक ब्राजिलमा कोरोना भाइरस संक्रमणको कारण चौबिस घन्टाभित्र चार हजार जनाभन्दा बढी व्यक्तिको ज्यान गएको बुधबार सरकारी सूत्रले पुष्टि गरेको छ । ब्राजिलमा अहिले विकसित स्वरूपका कोरोना भाइरसको बिगबिगी बढिरहेको छ । अस्पतालहरूमा बिरामी राख्ने ठाउँ नै नरहेको स्थिति सिर्जना भएको छ । केही शहरहरूमा उपचारकै प्रतीक्षा गर्दागर्दै बिरामीहरू भटाभट मरिरहेका छन् । थुप्रै क्षेत्रमा स्वास्थ्य प्रणाली धराशायी नै भएको छ ।

ब्राजिलमा मृतकको संख्या झन्डै ३ लाख ३७ हजार पुगेको छ । मृतकको संख्याको आधारमा ब्राजिल विश्वमै अमेरिकापछि दोश्रो स्थानमा रहेको छ । यस्तो विषम स्थिति भइसक्दा पनि ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारो भने अझै पनि लकडाउनको विरुद्धमा रहेका छन् । उनको विचारमा कोरोना भाइरसको असरभन्दा लकडाउनको कारण अर्थतन्त्रमा पर्ने असर डरलाग्दो छ ।

साथै, उनी स्थानीय केही निकायले लगाइएको स्वास्थ्य सुरक्षासम्बन्धी नियमहरूसमेत निष्क्रिय पार्नतर्फ लागेका छन् ।मंगलबार राष्ट्रपति निवासबाहिर आफ्ना समर्थकहरूसँगको भेटवार्ताको क्रममा बोल्सोनारोले क्वारेन्टाइनमा बस्दा शरीर मोटो र डिप्रेसनको शिकार हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्