एस्ट्राजेनेका खोप र रगत जम्ने समस्याबीच सम्बन्ध छ’



रोम, (एजेन्सी) । 

युरोपेली औषधि निकाय (ईएमए) का एकजना वरिष्ठ अधिकारीले कोभिड–१९ विरुद्धको खोप एस्ट्राजेनेका र मस्तिष्कमा रगत जम्ने निकै अनौठो खालको नयाँ समस्याबीच सम्बन्ध रहेको जानकारी दिएका छन् । तर, यसको सम्भावित कारणहरू अझै अज्ञातै रहेको उनले मंगलबार एउटा अखबारमा प्रकाशित अन्तर्वार्तामा भनेका छन् । पछि इएमएद्वारा जारी गरिएको एक विज्ञप्तिमा यस खोप माथिको पुनरावलोकन कार्य जारी रहेको तथा केही दिनभित्रै यसबारे सत्य तथ्य सार्वजनिक गरिने उल्लेख गरिएको छ ।

तर, एस्ट्राजेनेका कम्पनीका प्रवक्ताले भने यसबारे केही पनि टिप्पणी गर्न अस्वीकार गरेका छन् । ईएमएको खोप मूल्यांकन टोलीका अध्यक्ष मार्को क्याभालेरीले इटालियन दैनिक अखबार एल मेसान्जेरोलाई बताएका छन्, ‘मेरो विचारमा अब हामी स्पष्ट रूपमा यो खोप र मस्तिष्कको रगत जम्ने समस्याबीच समबन्ध रहेको भन्न सक्छौं ।’ तर, क्याभेलेरीले आफ्नो भनाइ पुष्टि गर्ने खालको कुनै प्रमाण भने पेस गरेका छैनन् । ईएमएले पटक–पटक एस्टा«जेनेका खोप लगाएपछि अत्यन्तै दुर्लभ खालको मस्तिष्कमा रगत जम्ने सेरेब्रल भेनस साइनस थ्रोम्बोसिस (सीभीएसटी) नामक रोगको ४४ वटा घटना बाहिर आएपछि यस खोपको फाइदा र विश्वसनियतामा नै प्रश्नचिन्ह खडा भएको बताएको थियो । युरोपेली आर्थिक क्षेत्रका करिब ९२ लाख मानिसले यो खोप लगाएका थिए ।

विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले समेत यो खोपको समर्थन गरेको हो । शुरूमा एस्ट्राजेनेकाले आफ्नो अध्ययनहरूबाट उक्त खोपको प्रयोगबाट रगत जम्ने खतरा फेला नपरेको जनाएको थियो । फ्रान्स, जर्मनी र नेडरल्यान्डसलगायत केही युरोपेली मुलुकमा अनुसन्धान जारी रहुञ्जेलका लागि कलिला उमेरका मानिसहरूलाई यो खोप नलगाउने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्