अदुवाप्रति बढ्दै किसानको आकर्षण



नेपाल समाचारपत्र, हेटौंडा । 

मकवानपुरको कैलाश गाउँपालिका वडा–९ का विनोद विष्टलाई अदुवा खेती गर्ने जाँगर थपिएको छ । आफ्नो दैनिकी चलाउनका लागि गरिँदै आएको अदुवा सुरक्षित भण्डारण गर्न पाइने भएपछि उहाँ खुशी हुनुभएको हो ।हरेक वर्ष बीउका लागि घरमै फिँजाएर राख्ने गरिएको अदुवा सुक्ने, कुहिने गरेकोमा अब सुरक्षित हुने भएपछि विष्ट खुशी हुनुभएको छ ।

बीउ छुट्याएर राखिएको अदुवा कोही वर्ष कुहिएर रोप्नै नपाएको अनुभव उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो–‘अदुवाको बीउ जोगाउनै गाह्रो हुने गरेको थियो । अब त त्यस्तो नहोला भनेर साह्रै खुशी लागेको छ । बेच्ने जति बेच्यो, बाँकी बिउलाई छुट्याएर केन्द्र घरमा राख्यो । अब रोप्न राखिएको बिउ खेर नजाने भयो । अदुवा भण्डारणले ९ नम्बर वडाबासीलाई खेती गर्ने जाँगर थपिएको उहाँको भनाइ छ ।कैलाश गाउँपालिका जिल्लाकै सर्वाधिक अदुवा उत्पादन हुने पालिकाका रुपमा चिनिँदै आएको छ । नगदेबालीका रुपमा खेती गरिने अदुवा यस वर्ष राम्रो उत्पादन भएको कैलाश गाउँपालिकाका सूचना अधिकारी उमेश राईले जानकारी दिनुभयो ।अन्य वर्षको तुलनामा अदुवा उत्पादनमा उल्लेख्य वृद्धि भएको पाइएको छ । प्रतिहेक्टर ६२ मेट्रिकटन अदुवा उत्पादन भएको तथ्यांक गाउँपालिकाले सार्वजनिक गरेको छ । कैलाशका अधिकांश मानिस अदुवाखेती गरेर वर्षेनी लाखौं आम्दानी गरिरहेका छन् । हाल बजारमा अदुवाको भाउ प्रतिकिलो ७० देखि ८० रुपियाँ छ । सोही मूल्यमा कैलाश गाउँपालिका–३, ४, ५, ८, ९ र १० नम्बर वडाका किसानहरु बारिबाट अदुवा बिक्री गरिरहेका छन् ।

कैलाशमा उत्पादन भएको अदुवा बिउका लागि थाहानगर, राक्सिराङ गाउँपालिका, मनहरी गाउँपालिकालगायत पालिका तथा बाहिरी जिल्लाहरुमा समेत बिक्री हुने गरेको छ । अदुवाको बिउ किन्न गाउँमै किसान जाने गरेको पालिकाका सूचना अधिकारी राईले जानकारी दिनुभयो ।माघ अन्तिमदेखि चैतसम्म खनिने अदुवा आफ्नो बारिमा अर्कोपटक लगाउन राख्ने बाँकी बिक्री गर्ने गरिएको छ । बारिमा अर्को पटक लगाउन बिउ सञ्चितिका लागि पालिकाको सहयोग तथा सहकारी संस्थाको समन्वयमा अदुवाको बिउ भण्डारण केन्द्र व्यबस्थापन गरिएको छ । बिउ भण्डारण केन्द्रहरु हरेक वडामा हुँदा किसान खुशी भएका छन् ।

अदुवा उत्पादन हुने वडामा बिउ भण्डारण केन्द्र स्थापना गरिएका छन् ।किसानले अदुवा भण्डारण गर्दा एक तह बालुवा, एक तह अदुवा गरेर मिलाएर राख्ने गर्छन् । त्यसरी भण्डारण गर्दा अदुवा सुक्ने समस्याबाट छुटकारा पाइने किसानको भनाइ छ । अदुवा एक वर्षे बालीका रुपमा खेती गरिन्छ । अदुवाको रेशादार जरा हुन्छ र यो हत्केलाझैं फिँजिएको हुन्छ । अदुवाको महत्वपूर्ण भाग हत्केलाझंै फिँजिएका २०÷३० सेन्टिमिटर लामो र २ देखि ३ सेन्टिमिटर माटोभित्र फल्ने गानो हो ।

प्रतिक्रिया दिनुहोस्