सिटी र रियलको जित



लन्डन, (एजेन्सी)

यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र रियल मेड्रिडले जितको नतिजा आत्मसात गरेको छ ।घरेलु मैदान इत्तिहाद स्टेडियममा मंगलबार राति भएको खेलमा सिटीले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई २–१ गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा केभिन डि ब्रुयने र फिल फोडेनले गोल गरेका थिए । त्यस्तै, डर्टमन्डका लागि मार्काे रिउसले एक गोल फर्काए । खेलको १९औं मिनेटमा केभिन डि ब्रुयनेको गोलबाट सिटीले अग्रता लिएको थियो ।

उनले रियाद महारेजको पासमा गोल गरेका थिए । त्यसपछि खेलको ८४औं मिनेटमा कप्तान मार्काे रिउसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । उनले हालान्डको पासमा उक्त गोल गरेका थिए । त्यस्तै, खेलको ९०औं मिनेटमा इल्केए गुन्डोगानको पासमा फिल फोडेनले गोल गर्दै सिटीलाई २–१ को जित दिलाए ।यो जितसँगै सिटीको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । दोस्रो लेगमा यही नतिजा कायम राख्न सके सिटीले अन्तिम चारको यात्रा तय गर्नेछ । यी दुईबीच दोस्रो लेगको खेल १५ अप्रिलमा डर्टमन्डको मैदानमा हुनेछ ।त्यस्तै, अर्को खेलमा स्पेनिस क्लब रियल मेड्रिडले पनि युईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुललाई पराजित ग¥यो । अल्फ्रेडो डि स्टेफानोमा मंगलबार राति भएको खेलमा घरेलु टोली रियलले लिभरपुललाई ३–१ ले पराजित गरेको हो । रियलको जितमा ब्राजिली विंगर भिनिसियस जुनियरको दुई तथा मार्काे एसेन्सियोको एक गोल गरेका थिए । लिभरपुलका लागि भने मोहम्मद सलाहले एक गोल फर्काए ।

खेलको २७औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई १–० ले अघि बढाए । त्यस्तै, खेलको ३६औं मिनेटमा मार्काे एसेन्सियाले गोल गर्दै रियललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । एलेक्सान्डर अर्नाेल्डको गल्तीमा मार्काे एसेन्सियोले नियन्त्रणमा लिँदै गोल गर्न सफल भएका थिए । ५१औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याउँदै लिभरपुललाई खेलमा फर्काउने संकेत दिएका थिए ।तर, ६५औं मिनेटमा भिनिसियस जुनियरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै रियललाई खेलमा ३–१ ले अघि बढाए । उनले लुका मोड्रिचको पासमा गोल गर्न सफल भएका थिए । यो जितसँगै रियलको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । यी दुईबीच दोस्रो लेग १५ अप्रिलमा एनफिल्डमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्