करण र कार्टुन सार्वजनिक



बाललेखक समिर कोजू र बालकलाकार आश्रिती श्रेष्ठको बालचित्र कथा करण र कार्टुन शनिबार राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आयोजित कार्यक्रमबीच संस्कृतिविद् तथा शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले सार्वजनिक गरे।

सो अवसरमा बालकलाकार आश्रितीको एक दिवसीय चित्रकला प्रदर्शनीसमेत गरियो। प्रदर्शनीमा आश्रितीले दुई वर्षको उमेरदेखि बनाएका चित्र थिए। महाराजगञ्जस्थित मेरिडियन स्कुलमा कक्षा ३ मा अध्ययनरत् नौ वर्षीया आश्रितीले धार्मिक, सांस्कृतिक, प्राकृतिक विषयमा केन्द्रित रही सिर्जनात्मक ढंगले चित्र तयार पारेकी छन्। करण र कार्टुन चित्रकथालाई बालसाहित्य प्रतिष्ठान नेपालले करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिको सहयोगमा प्रकाशन गरेको हो।

कार्यक्रममा जोशीले सिर्जनशीलता हरेक बालबालिकामा हुने धारणा राख्दै प्रतिभालाई अगाडि बढ्ने वातावरण निर्माणमा जोड दिए। उनले बालकलाकार आश्रितीको प्रतिभालाई उजागर गर्ने मौका दिएर राम्रो काम गरेको जनाए। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले पुस्तक विशेष लागेको जनाउँदै चित्रकार, लेखक र समीक्षक पनि बालप्रतिभा भएकैले विशेष रहेको बताए।

कार्यक्रममा बाल समीक्षक सोइना दाहालले किताबका बारेमा चर्चा गर्दै बालबालिकामा मौलाउँदै गएको मोवाइल संस्कृतिले विकृतिको रुप लिएको सुनाइन्। यस्तै, पुस्तकका लेखक समीर कोजुले आफूले सोच्दै नसोचेको उपहार पुस्तक प्रकाशनपछि पाएको बताए। कार्टुनिस्ट अविन श्रेष्ठले कथा समसामयिक र सन्देशमूलक रहेको जनाउँदै आश्रितीका चित्रका बारेमा चर्चा गरे। उनले बालबालिकालाई माहोल दिन सकिए उनीहरुमा रहेको प्रतिभा प्रस्फूटन हुने बताए।

प्रतिक्रिया दिनुहोस्