लुम्बिनी प्रदेशका २ सांसद कारवाहीमा, सरकारलाई दिएको समर्थन फिर्ता लिने गृहकार्य शुरु



यमलाल भुसाल, बुटवल ।

लुम्बिनी प्रदेश सभाका २ जना सांसद कारवाहीमा परेका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद दधिराम न्यौपाने र दिनेश पन्थीलाई पार्टीको संसदिय दलको कार्यालयको सिफारिसमा प्रदेशका सभामुख समक्ष कारवाहीको सिफारिश भएको हो ।

दल त्याग गरेकाले न्यौपाने र पन्थीको सांसद पद नै खारेज हुने भएको छ । भोलीको प्रदेश सभाको बैठकमा सभामुखले कारवाहीको लागि पठाएको पत्र सभामा जानकारी गराउने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दूलभकुमार पुन मगरले बताउनु भयो ।

संसदीय कार्यालयवाट कारवाहीका लागि पठाईएको पत्र सभामुख पूर्ण बहादुर घर्तीलाई जानकारी गराईसकिएको र प्रदेश सभा नियमावली १९१ अनुसार अगाडी बढाउन निर्देशन भएको सचिव मगरले बताउनु भयो । नियमावली १९१ अनुसार सदनजारी रहेको अवस्थामा बैठकमा जानकारी गराउने वा सूचना पार्टीमा सूचना टास गर्नु पर्ने व्यवस्था रहेको छ ।

प्रदेश सभाको वैठक जारी रहेको र भोलीको सभामा सभामुखले कारवाहीवारे सभामा जानकारी गराउनु हुने सचिव मगरले बताउनु भयो । सभामुखले सभामा जानकारी गराएपछि नियमावली १९२ अनुसार उहाँहरुको पद रिक्तहुने कानुनी व्यवस्था रहेको छ । नेकपा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका लुम्बिनी प्रदेशका सांसदद्वय न्यौपाने (रुपन्देही) र पन्थी(गुल्मी) लाई माओवादीले कारवाही गरेको हो ।

एमालेमा प्रवेश गरेर ओली समूहको केन्द्रीय सदस्य बनेका न्यौपाने र पन्थीलाई पार्टीले कारवाही गरेपछि उनीहरुको सांसद पद खारेज हुने भएको हो ।

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्री शंकर पोखरेललाई दिँदै आएको समर्थन फिर्ता लिने गृहकार्य समेत सुरु भएको माओवादीका एक नेताले बताउनु भयो । माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री पोखरेलले बहुमत गुमाउने देखिएको छ । माओवादी छाडेर एमालेमा प्रवेश गरेपछि न्यौपाने र पन्थीलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर, एक हप्ता बितिसक्दापनि उनीहरुले स्पष्टीकरणको जवाफ नदिए पछि सांसद पद नै जाने गरि कारवाहीको सिफरिस गरिएको ती नेताले जनाएका छन ।

न्यौपाने र पन्थीले आफूहरु सांसद पद गए पनि एमालेमै रहने मौखिक जवाफ माओवादी नेताहरुलाई दिएको स्रोतले बतायको छ । लुम्बिनी प्रदेशमा कुल ८७ सांसद छन् । सरकारमा बहुमत जुटाउनका लागि ४४ सीट चाहिन्छ । एमालेसँग ४१ सिटमात्र छ । माओवादीबाट गएका न्यौपाने र पन्थीलाई माऊ पार्टीले कारबाही गरेपछि एमालेलाई बहुमतका लागि तीन सीट पुग्दैन ।

प्रदेशसभामा एमालेसँग ४१ सीट छ भने माओवादीको २० सांसद छन् । तीमध्ये माओवादीका एकजना सभामुख भएकाले भोटिङ गर्न १९ जनाले मात्रै पाउथे तर २ जनालाई कारवाही भएपछि १७ जना मात्र रहने छन । प्रदेशसभामा नेपाली काँग्रेसका १९ सांसद छन् । जसपाको ६ सीट र राष्ट्रिय जनमोर्चाको एक सीट छ ।

माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका दुई सांसदलाई कारवाही गरेको खण्डमा प्रदेशमा गठबन्धन सरकार बनाउनुपर्ने हुन्छ । किनकि, पार्टीको कारवाहीमा परेका सांसदले प्रदेशसभाको सदस्यता गुमाउने छन् । यस्तो अवस्थामा प्रदेशसभाको अंक गणित ८७ बाट ८५ मा झर्छ ।

यस्तो अवस्थामा एमालेलाई बहुमत जुटाउन ४३ को आँकडा पार गर्नुपर्ने हुन्छ । ४१ सीट रहेको एमालेले थप दुई सांसदको समर्थन जुटाउनु पर्नेछ ।

माओवादी केन्द्रले दुई सांसदलाई कारवाही गरेपछि प्रदेश सभामा कायम सदस्य संख्या ८७ बाट झरेर ८५ हुन्छ भने माओवादी केन्द्रसँग १७ सांसद सीमित रहन्छन् । यस्तो अवस्थामा एमालेको विकल्पमा सरकार गठन गर्न विपक्षीदलहरू सवै एकै ठाउमा उभिदा ४३ जना हुने र सरकारका लागि आवश्यक संख्या पुग्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्