एकैपटक १६५ वटा सडकको शिलान्यास



काठमाडौं, (नेस)

प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १६५ वटा सडकको शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट संघीय निर्वाचन क्षेत्रका सडक शिलान्यास गर्नुभएको हो ।

हरेक निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको दरले शिलान्यास गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले स्वीच थिचेर एकैपटक शुरू गर्नुभएको हो । सांसदहरुले ठूलो दरमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेट मागेपछि चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो ।

चालू आर्थिक वर्षमा सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड रुपियाँ बजेट छुट्याएको छ । गत फागुनमा पनि प्रधानमन्त्री ओलीले मदन भण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको एकैपटक शिलान्यास गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्