जुम्ली मार्सीको चर्चा



नेपालको जुम्ला जिल्लाको सीमित मात्रामा उत्पादित हुने स्थानीय जातको धान हो मार्सी । संसारमै सबैभन्दा उचाइ अर्थात् समुन्द्र सतहबाट करिब ३ हजार मिटरसम्म उत्पादन हुने जुम्ली मार्सी धान जुम्लाको हावापानीमा मात्र हुने दुर्लभ प्रजातिको धान हो ।यसको स्वाद, रोग र कीराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वको कारण जुम्ली मार्सी धानको महत्व अन्तर्राष्ट्रिय जगत्सम्म पुगेको छ ।

राणाकालमा केन्द्रमा रहेका शासकहरूका लागि यही मार्सी धानको चामल हुलाक चलान गरी काठमाडौंसम्म आउने गरेको कुरा अति ज्येष्ठ नागरिकबाट सुन्न पाइन्छ । करीब ७०० वर्षअघि जुम्लीका इष्ट देवता चन्दननाथले भारतको काश्मिरबाट मार्सी भित्र्याएको विश्वास गरिन्छ । यसको सक्कली बीउ अनुसन्धानका लागि कृषि अनुसन्धान केन्द्रमा राखिए पनि अन्यत्र हराइसकेको छ ।किंवदन्तीअनुसार शुरुमा जुम्लामा कुनै पनि धान पाकेन । बाबा चन्दननाथले काश्मिरबाट धानको बीउ ल्याएर शुरुमा लाछु जिउरो (तातोपानीनजिकको गाउँ) भन्ने ठाउँमा रोपेका र पछि अरूहरूले पनि यसै गरी रोप्दै जाँदा मार्सी धान यहाँ फैलिएको हो भन्ने भनाइ पनि रहेको छ ।जुम्लाको सदरमुकाम खलंगावरपर र सिञ्जा क्षेत्रमा कालीमार्सी धानको बीउ राख्ने काम हरेक सालको चैत १२ गते हुन्छ । बीउ राख्नुअघि धानलाई केलाउने, निफन्ने गरिन्छ र यही दिन एउटा तामाको खड्कुलो वा हुड्डीमा धान भिजाएर घरको कुनै ठाउँमा सुरक्षित राखिन्छ । चार दिनपछि अर्थात् चैतको १६ गते भिजाएर राखिएको धानलाई निकालिन्छ ।

यसलाई पखालिन्छ र फेरुवा वा लिउ (ऊनीको कपडा विशेष) मा सुकाएर ओभानो पारिन्छ ।धान ओभानो भएपछि पानी छर्कने, फेरि सुकाउने, ओभाएपछि पुनः पानी छर्कने र साझँतिर घरभित्र चुल्होनजिक रास बनाएर राखिन्छ । त्यो रासलाई तातोस् भनेर सल्लाको झाँपो तथा कपडाले छोपेर राखिन्छ । बीउ नउम्रेसम्म बिहान–बेलुकी चिसो पानी छम्किनुपर्छ । यसरी राखिएको धान कसैकोमा १९ गते, कसैकोमा २० गते उम्रन्छ ।यदि २० भन्दा पर गएर २१–२२ गते उम्रेको भए त्यसलाई बासी बीउ भन्ने चलन छ । किनभने यसरी रास बनाएर राखिएको बीउलाई २० गतेका दिन ब्याडमा छर्ने काम हुन्छ र स्थानीय नाचगानसहित यसै दिन चेलीबेटीलाई बोलाएर मीठो–मीठो खाना खुवाइन्छ । देउडा नाच नचाइन्छ । यही कारण यो दिनलाई बिसुवा पर्व भन्ने गरिएको हो । बीउ छर्ने दिन भएकोले कसै–कसैले यसलाई विच्छेती पर्व भनेर पनि नामकरण गरेका छन् । यहाँ चैत १२ गते काली मार्सीको बीउ भिजाउने, १६ गते उमार्ने र २० गते छर्ने दिनका रूपमा मनाउने प्रचलन छ ।

यी दिनमध्ये छर्ने दिन २० गतेलाई विशेषरूपमा मनाइन्छ । बीउ छर्ने बेला यहाँ मौलिक चलन रहेको पाइन्छ । चैत २० गते ब्याडमा धनको बीउ छर्नुपूर्व त्यसको पूजा गरिन्छ । चामलको पीठोको पुवा बनाइन्छ र ब्याडको कान्लोमा ढुंगा ठड्याइन्छ । बाबा चन्दननाथलाई सम्झेर पूजा गरिन्छ । घरमा चेलीबेटी बोलाएर खुवाउने चलन रहेको छ । मैतालु र स्थानीय महिलाहरू मिलेर देउडा नाचगान गर्ने गर्छन् । यसै गरी विवाहित र अविवाहित महिला पनि दुईपट्टि भएर नै नाचगान गर्छन्, बिसुवा पर्व मनाउँछन् ।

जुम्लालगायतको उच्च भूभागमा झन्डै ८ महिना समय लिएर उत्पादन हुने धान हो, मार्सी । यो रातो चामलको विभिन्न प्रजातिमध्ये एक हो र यो पौष्टिकताले भरिपूर्ण मानिन्छ । अत्यधिक चिसो हुने क्षेत्रमा फल्ने भएकाले यो प्रांगारिकरुपमै उत्पादन हुन्छ । बीउ राखेको समयदेखि गणना गर्ने हो भने किसानले १० महिना मेहनत गरेपछि मार्सी धान भित्र्याउन सक्छन् ।यो धानको चामलमा फाइबरको मात्रा बढी हुने भएकाले सुगर र प्रेसरका बिरामीका लागि यो उपयोगी मानिन्छ । आइरन, स्टार्चलगायतका पौष्टिक तत्व पनि सन्तुलित मात्रामा हुन्छ । स्वादका हिसाबले पनि स्वास्थ्यका हिसाबले यो निकै महत्वपूर्ण मानिने गरिन्छ । यसको भात ढिँडोजस्तै आडिलो खान्कीमा पनि गनिन्छ ।
– सुनिल शाही, जुम्ला ।

प्रतिक्रिया दिनुहोस्