गजेन्द्र र पुष्पा पहिलो



काठमाडौं, (नेस)

नेपाली सेनाका गजेन्द्र राई र एपीएफ क्लबकी पुष्पा भण्डारी ‘प्रथम किसुन जी स्मृति राष्ट्रिय खुला हाफ म्याराथन प्रतियोगीतामा शनिबार पहिलो भएका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशद्वारा आयोजित प्रतियोगिताको पुरुषमा गजेन्द्रले निर्धारित दूरी १ घण्टा ६ मिनेट ५१ सेकेन्डमा पूरा गरे । गजेन्द्रसहित शीर्ष पाँच स्थानमा सेनाकै खेलाडी रहे । १ घण्टा ७ मिनेट २० सेकेन्डमा खगेन्द्र भाट, १ घण्टा ९ मिनेट ३९ सेकेन्डमा रामजी बस्नेत, १ घण्टा १० मिनेट २९ सेकेन्डमा देवराज बस्नेत र १ घण्टा ११ मिनेट ४३ सेकेन्डमा जितेन्द्र अधिकारी दनुवारले क्रमशः दोश्रोदेखि पाँचौं स्थानमा दौड टुंग्याए । शीर्ष तीन स्थानमा रहनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाए । चौथो र पाँचौंले समान ५–५ हजार नगद पुरस्कार हासिल गरे ।

महिलामा बंगलादेशको ढाकामा भएको फुल म्याराथनमा स्वर्ण जित्दै महिलातर्फ इतिहास रचेकी पुष्पाले निर्धारित दूरी तय गर्न १ घण्टा २३ मिनेट ३७ सेकेन्ड समय खर्चिन् । सेनाकी पूर्णलक्ष्मी न्यौपाने १ घण्टा २८ मिनेट ४१ सेकेन्डमा दोश्रो, एपीएफकी आशा रावत १ घण्टा ३६ मिनेट ४९ सेकेन्डमा तेश्रो र काठमाडौंकी रोशना रिजाल १ घण्टा ५१ मिनेट २६ सेकेन्डमा चौथो भए । महिलाले पनि पुरुष सरह नै नगद पुरस्कार जिते ।विजेतालाई नेपाली कांग्रेसका नेता पूर्वमन्त्री पूर्णबहादुर खड्का, नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह, आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । त्यसअघि, प्रतियोगिताको सांसद् गगनकुमार थापाले उद्घाटन गरेका थिए । दौड गोल्फुटारबाट शुरू भई विभिन्न भागको परिक्रमा गरी सोही स्थानमा आएर टुंगिएको थियो ।

समापनका अवसरमा ओलम्पियनत्रय एथलेटिक्सका बैकुण्ठ मानन्धर, जितबहादुर केसी र पुष्पराज ओझा तथा बक्सिङका सुरेश आले मगरलाई सम्मान गरिएको थियो । त्यसै अवसरमा वरिष्ठ फोटो पत्रकार श्याम चित्रकार पनि सम्मानित भए । पाँचै जनालाई दोसल्ला, कदरपत्र र नगद ५ हजारसहित सम्मान गरिएको थियो । बक्सिङका मगर भने स्वास्थ्यका कारण उपस्थित थिएनन् । उनको पुरस्कार बक्सिङका किशोर केसीले ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्