तलबमात्र बुझ्छन् निरीक्षक : ‘की’ले उडायो सरकारी जागिरको सपना



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडा आएर उनीहरुले लोकसेवा आयोगको चौथो तहको परीक्षा दिए । परीक्षाको नतिजा आउँदा ‘की’ नलेखिएको भन्दै उनीहरुको परीक्षा रद्ध गरिएको जनाइयो । ६ हजार ४ सय ३४ जनाको परीक्षाफल सार्वजनिक भएकोमध्ये ४० जनाको परीक्षा ‘की’ नलेखेकै कारण रद्ध गरिएको छ । २ हजार ५ सय ७३ जना उत्तीर्ण भए । परीक्षामा सही जवाफ लेखे पनि ‘की’ उल्लेख नगरिएका कारण परीक्षा रद्ध हुने प्रावधान छ ।

‘की’ लेखिएको छ/छैन हेर्न प्रत्येक परीक्षामा निरीक्षक खटाउने गरिएको छ । प्रदेश लोकसेवा आयोग अध्यक्ष सुरेशमान श्रेष्ठले उत्तरपुस्तिकामा ‘की’ उल्लेख नगर्नुमा परीक्षार्थीको परीक्षा कोठामा खटिएका निरीक्षकको पनि उत्तिकै गल्ती रहेको बताउनुभयो । लोकसेवा परीक्षामा एक परीक्षार्थीले लेखेको जवाफ अर्का परीक्षार्थीले हेर्दा पनि पत्ता लगाउन नसकुन् भन्ने उद्धेश्यले प्रत्येक जवाफमा ‘की’ प्रयोग गर्नुपर्ने प्रावधान छ । एउटै प्रश्न हुने भए पनि जवाफका लागि छुट्टै ‘की’ लेख्नुपर्ने नियम छ ।

लोकसेवा परीक्षा दिँदा परीक्षाको प्रश्नावलीको माथिल्लो भागमा लेखिएको हुन्छ–उत्तरपुस्तिकामा अनिवार्यरुपमा ‘की’ उल्लेख गर्नुपर्ने हुन्छ । ‘की’ उल्लेख नगरिएका उत्तरपुस्तिका रद्ध हुनेछ । यो निर्देशन परीक्षामा समावेश हुने सबैका लागि एक महत्वपूर्ण निर्देशन हो । तर, उक्त ‘की’ नलेख्दा करिब ७ हजार परीक्षार्थीमध्ये ४० जना सरकारी जागिरबाट वञ्चित हुनुपरेको छ ।

आफूले लेखेको जवाफलाई ‘की’ मार्फत् खुलाउनुपर्ने हुन्छ । ‘की’ भन्नाले कति नम्बर प्रश्नको जवाफ हो भन्ने चिन्न अंग्रेजी अक्षरमा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी छुट्याएर लेख्नुपर्ने हुन्छ । तर, प्रदेशबाट सञ्चालित परीक्षामा ‘की’ नलेखेका कारण दर्जनौं युवाको सरकारी जागिर खाने सपना टुटेको छ ।

परीक्षार्थीलाई सहज होस् भनेर पर्याप्त संख्यामा निरीक्षकहरु खटाइएका छन् । ‘की’ का विषयमा गल्ती परीक्षार्थीको मात्र नभएर परीक्षा निरीक्षकको समेत रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ । अध्यक्ष श्रेष्ठले भन्नुभयो–निरीक्षकको काम सोही कुराहरु हेरविचार गर्ने हो । परीक्षा दिनेको जति गल्ती छ, त्यसमा निरीक्षक पनि उत्तिकै गैरजिम्मेवार बनेको देखिएको छ । एउटा कोठामा २ निरीक्षक उपलब्ध गराएका छौं । उनीहरुको काम परीक्षामा अनियमितता भयो कि भनेर निरीक्षण गर्ने र परीक्षामा ‘की’ कसरी लेख्ने जस्ता कुरा सिकाउनु हो । तर, यसो हुन पाएनछ । अन्य परीक्षामा पनि गल्ती दोहोरिए निरीक्षकहरुलाई कारबाही गरिनेछ ।

परीक्षा सञ्चालनपूर्व कसरी लेख्ने भन्ने कुरा निरीक्षकले जानकारी नगराएका कारण परीक्षार्थीहरु अलमलमा परेको हुनसक्ने अध्यक्ष श्रेष्ठले दाबी गर्नुभएको छ । अध्यक्ष श्रेष्ठका अनुसार परीक्षाका लागि निरीक्षकलाई तालिम, भत्ता तथा तलब व्यबस्था गरिएको छ । तर, गर्नुपर्ने काम राम्रोस“ग नगरिदिँदा सरकारी जागिर खाने सपना बोकेका दर्जनौं युवामा निराशा थपिएको छ । प्रदेश लोकसेवा गठनपछिको यो पहिलो परीक्षा हो । देशका ७७ वटै जिल्लाबाट परीक्षामा सहभागी हुन पाउने व्यबस्था गरिएको भए पनि कार्यक्षेत्र बागमती प्रदेश कायम गरिएको छ ।

लोकसेवा आयोगले प्रशासन सेवाअन्तर्गत् सामान्य प्रशासन लेखा समूह, सहायक स्तर चौथो, सहलेखापाल पदको प्रथम चरणको वस्तुगत परीक्षाको नतिजा सार्वजनिक गरेको छ । चौथो तहका विभिन्न पदमा खुला र समानुपातिक गरी ४ सय ६९ जनाका माग रहेकोमा ५८ हजार २ सय ६३ जनाले परीक्षा दिएका थिए । तीमध्ये ६ हजार ४ सय ३४ जनाको परीक्षाफल सार्वजनिक भएकोमध्ये २ हजार ५ सय ७२ जना दोस्रो चरणको परीक्षाका लागि छनौटमा परेका हुन् ।

पाँचौं तहको पदको बिभिन्न कोटामा ५ सय २४ जना माग रहेकोमा ४१ हजार ४ सय ९८ जनाले परीक्षा दिएका छन् । छैठौं तहको अधिकृतस्तरका बिभिन्न कोटाको लागि खुला र समानुपातिकतर्फबाट १ सय ४९ जनाको माग रहेकोमा ८ हजार ७ सय ९२ जना परीक्षा दिने क्रममा रहेको आयोगले जनाएको छ । यसअघि सम्पन्न चौथो र पा“चौं तहका परीक्षामा ९९ हजार ७ सय ६१ परीक्षार्थीले परीक्षा दिइसकेका छन् भने छैठौं तहको परीक्षा बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्