घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न मन्त्री आलेको निर्देशन



विमल विष्ट, काठमाडौँ ।

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले चितवनको गैडा गणनामा धु्रवे नाम गरेको जङ्गली हात्तीको आक्रमणमा परि घाइते भएका कर्मचारी तथा गणकहरुको उपचारमा कुनैपनि कसर बाँकी नराख्न निर्देशन दिनु भएको छ । आज वन तथा वातावरण मन्त्री आलेले राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिब शरद अधिकारी, राष्ट्रिय निकुञ्जका प्रमुख डा.दीपक खराललाई घाइते भएका कर्मचारीको उपचारमा कुनैपनि समस्या आउन नदिनका लागि पहल चाल्न निर्देशन दिनु भएको हो । गैडा गणना कार्यमा निकै सजगता अपनाउन समेत मन्त्री आलेले सबै कर्मचारी तथा गणमा आग्रह गर्नु भएको छ ।

यसैगरी मन्त्री आलेले उक्त धु्रवे नाम गरेको जङ्गली हात्ती कुन ठाउँमा छ त्यसको बारेमा एकिन जानकारी लिएर तथा आफ्नो सुरक्षा व्यवस्था मजबुद बनाएर मात्रै गैडा गणनाको कार्य अगाडी बढाउन समेत निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “हात्ती लगायत अन्य हिंस्रक जङ्गली जनावरहरुको लोकेसन पत्ता लगाउनुस र आफ्नो सुरक्षा व्यवस्था बलियो बनाएर मात्रै गैडा गणनामा लाग्नुस ।” नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–२ नजिकै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर क्षेत्रमा खटिएका टोलीलाई जङ्गली हात्तीले शुक्रबार लखेटेपछि हात्तीबाट खसेर पाँच जना घाइते भएका थिए । गैँडा गणनाको क्रममा जङ्गली हात्तीले गणनामा प्रयोग भएको हात्तीलाई लखेटेपछि प्राविधिकसहित केही माहुते घाइते भएका हुन् ।

राष्ट्रिय निकुञ्जका प्रमुख डा.दीपक खरालका अनुसार धु्रवे हात्तीले लखेटेर घाइते हुनेहरुमा राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठ, माहुते सर्लाही जिल्ला हरिपुर नगरपालिका–७ का ४२ वर्षीय दीपेन्द्र चौधरी र रौटहट चन्दनपुर नगरपालिका–७ का ५१ वर्षीय पे्रमलाल कहार चौधरी रहेका छन् । घाइते मध्ये राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठको अवस्था गम्भीर रहेको र उहाँको काठमाडौँ स्थित हेम्स अस्पतालमा उपचार भइरहेको बताइएको छ । जङ्गली हात्तीको आक्रमणमा परि गैडा गणनामा गएका कर्मचारी घाइते भएपछि आज एक दिनका लागि सो क्षेत्रको गैडा गणना कार्य रोकिएको राष्ट्रिय निकुञ्जका प्रमुख डा.दीपक खरालले जानकारी दिनुभयो । धु्रवे हात्तीले लखेट्दा कोही हात्तीबाट खसेर कोही भाग्ने क्रममा लडेर र ठोक्किँएर घाइते भएको बताइएको छ ।घाइतेमध्ये अन्यको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा उपचार भइरहेको र उहाँहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्