चुनौतीबीच आहा–रारा गोल्डकप



विजय नेपाली, पोखरा
गत वर्ष कोरोना भाइरसका कारण धेरै फुटबल प्रतियोगिता रद्द गरियो । तर, आहा–रारा गोल्डकपले भने चुनौतीको सामना गर्दै प्रतियोगिता सम्पन्न ग¥यो । संयोग या भाग्यमानी भनौं आहा–रारा कप प्रतियोगिता सम्पन्न हुनेबित्तिकै देशमा लकडाउन भयो । सायद आयोजक सहारा क्लब पोखराले फुटबलका साथसाथै कयौंको भविष्य बनाउने भएकै कारण प्रतिकुलताले पनि साथ दिएकै छ ।
यही चैत २१ गते देखि १९औं संस्करणको आहा–रारा गोल्ड कप प्रतियोगिता हुँदै छ । जसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । सहारा क्लबका अध्यक्ष केशव बहादुर थापाले सहाराले प्रतिकुलतालाई समेत अनुकुलतामा बदल्दै प्रतियोगिताहरू आयोजना गर्दै आएको बताएका थिए ।
१२ टिमको सहभागिता रहने प्रतियोगितामा यसपालि जम्मा ८ टिमको मात्र सहभागिता रहेको छ । जसको मुख्य कारण नै कोरोना महामारी हो । अध्यक्ष थापाले भने स्वास्थ्य मापदण्ड अपनाएर प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिरहेको बताए । स्वास्थ्य मन्त्रालयले भिडभाड नगर्न आग्रह गरिरहेको छ । उता जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको समन्वयमा पोखराका विभिन्न बजार क्षेत्रमा प्रहरी खटाइ सचेतनामूलक नारासहित बसिरहेका छन् ।
तर, क्याराभान गोल्ड कपसहित २० वर्षदेखि क्लबले निरन्तर प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ । यो क्लब र पोखराको फुटबलको लागि सुखद् पक्ष हो । कयौं प्रतियोगिता आयोजना हुँदै बन्द हँुदै गए तर आहा–रारा गोल्ड कप भने थप आकर्षित हुँदै गयो । गत वर्ष पुरस्कार राशीमा वृद्धि गर्दै १० लाख रुपैयाँ पु¥याइएको थियो भने यो वर्ष विधागत उत्कृष्टतर्फ १० हजार रुपैँयाका दरले वृद्धि गरिएको छ ।
प्रतियोगिताको विजेताले नगद १० लाख १ हजार उप–विजेताले नगद ५ लाख एक हजार प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीले अप्रिला स्कुटर, सूर्यबहादुर मेमोरियल उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले समान २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यो वर्ष प्रतियोगिता ७ दिन मात्र सञ्चालन हुनेछ । चैत २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक सहारा क्लब पोखरासहित डिफेन्डिङ च्याम्पियन नेपाल आयल निगम मनाङ मस्र्याङदी क्लब, एपीएफ क्लब, मछिन्द्र क्लब, संकटा क्लब, रुसलान थ्रिस्टार क्लब, नेपाल पुलिस क्लब र पाहुना टोली अफ्रिकन रुट एसोसिएसन, डाउला क्यामरुनको सहभागिता रहनेछ ।

 

प्रतिक्रिया दिनुहोस्