फ्रान्स र इटालीको जित



लन्डन, (एजेन्सी)

कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपको युरोपियन छनोट खेलमा फ्रान्स र इटालीले समूह चरणमा लगातार तेस्रो जित निकालेका छन् ।एन्टोइन ग्रिजम्यानको एक मात्र गोलको मद्दतमा समूह ‘डी’ को खेलमा फ्रान्सले बोस्निया एन्ड हर्जगोभिनालाई उसैको मैदानमा १–० गोलअन्तरले हराएयो । उनले ६०औं मिनेटमा एड्रिएन राविओटको पासमा गोल गरेका थिए ।

यसै समूहको अर्काे खेलमा युक्रेन र कजाख्स्तानले १–१ गोलको बराबरी खेल्दै समान अंक बाँडेका छन् । घरेलु टोली युक्रेनका रोमन यारेमचुकले गोल गर्दा कजाख्स्तानका सेरिकजान मुजहिकोभले बराबरी गोल फर्काए । जितपछि फ्रान्स तीन खेलबाट ७ अंक जोडेर समूहको शीर्षस्थानमा रहँदा युक्रेन तीन अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।त्यस्तै, समूह ‘सी’ को खेलमा इटालीले लिथुआनियालाई उसैको मैदानमा २–० ले हराउँदा स्टेफानो सेन्सी र सिरो इमोबिलेले गोल गरे । स्टेफानोले ४८औं मिनेटमा गोल गर्दा इमोविलेले इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा विजयी गोल गरेका थिए । यसै समूहको अर्काे खेलमा नर्दन आयरल्यान्ड र बुल्गेरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो नतिजापछि इटाली तीन खेलबाट तीन जितपछि ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

यता चार पटकको फिफा विश्व च्याम्पियन जर्मनी आफ्नै घरमा अप्रत्यासित हारको सिकार भएको छ । बुधबार राति भएको युरोपियन छनोटअन्तर्गत आफ्नो समूहको तेस्रो खेलमा जर्मनीलाई पाहुना टोली नर्थ मेसेडोनियाले २–१ ले स्तब्ध बनाएको हो । जर्मनीको डुइसवर्गस्थित एमएसभी एरिना रंगशालामा भएको खेलमा जर्मनीले खेल पूर्णरूपमा आफ्नो नियन्त्रणमा राखे पनि अन्तिम समयतिर गोल बेहोरेपछि अप्रत्याशित हार बेहोर्नुपरेको हो । यो हारसँगै जर्मनीको फिफा विश्वकप छनोटको ३५ खेलको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ ।म्यासेडोनियाका लागि पहिलो हाफमा गोल गोरान पान्डेभले गरेका थिए । तर, खेलको ६३औं मिनेटमा इकाए गुन्डोगानले गोल गरेर जर्मनीलाई खेलमा फर्काएका थिए । त्यसपछि विजयी गोलको खोजीमा रहेका जर्मनीविरुद्ध म्यासेडोनियाले खेलको ८५औं मिनेटमा विजयी गोल ग¥यो । सो गोल इल्जिफ इल्मासले गरेका थिए ।

यससँगै मेसेडोनियाले जर्मनीमाथि फिफाको कुनै पनि प्रतियोगितामा इतिहासमै पहिलोपटक उसैको भूमिमा जित निकाल्न सफल भएको छ । जर्मनी सुरुआती तीन खेलबाट ६ अंकका साथ समूह ‘जी’ को तेस्रो स्थानमा रहेको छ । जर्मनीलाई हराएको म्यासेडोनिया भने ६ अंकका साथ समूहको दोस्रो स्थानमा रहेको छ ।त्यस्तै, इंग्ल्यान्डले तेस्रो खेलमा पनि जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा इंग्ल्यान्डले आफ्नो भूमिमा पाहुना टोली पोल्यान्डलाई २–१ ले पराजित गरेको हो । स्टार फरवार्ड रोबर्ट लेवान्डोस्कीबिना उत्रेको पोल्यान्डले इंग्ल्यान्डसँग हार पन्छाउन सकेन ।वेम्बली स्टेडियममा भएको खेलमा घरेलु टोली इंग्ल्यान्डका लागि खेलको १९औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत् गोल गरेर सुरुआती अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा पोल्यान्ड खेलमा फर्किएको थियो । ५८औं मिनेटमा जाकुब मोडरले गोल गरेर खेल १–१ बनाएका थिए । तर, खेलको ८५औं मिनेटमा डिफेन्डर ह्यारी मागुइरेले गोल गरेपछि इंग्ल्यान्डले खेल २–१ ले जित्न सफल भयो । यो जितपछि समूह ‘आई’ मा रहेको इंग्ल्यान्डले तीन खेलमा सबै खेल जितेर ९ अंक बनाएको छ ।

त्यस्तै, आफ्नो तेस्रो खेलमा स्पेनले पनि सहज जित निकाल्यो । स्पेनले आफ्नो भूमिमा पाहुना टोली कोसोभोलाई ३–१ ले हराउन सफल भयो । स्पेनको जितमा तीन जना फरक–फरक खेलाडीले गोल गरे । स्पेनका लागि खेलको ३४औं मिनेटमा युवा खेलाडी ड्यानी ओल्मोले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।त्यसपछि दोस्रो गोल खेलको ३६औं मिनेटमा युवा स्टार फेर्रान टोरेजले गरे । खेलको ७०औं मिनेटमा कोसोभोका लागि बेसार हालिमीले गोल गरेर खेललाई २–१ मा छोट्याएका थिए । तर, स्पेनले तत्कालै तेस्रो गोल ग¥यो । खेलको ७५औं मिनेटमा जेर्राड मोरेनोले गरे । यो जितपछि स्पेनले तीन खेलबाट ७ अंक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्