म्याग्दीमा ६८ जनाको निःशुल्क मोतियाविन्दु शल्यक्रिया



प्रताप बानियाँ, म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीको बेनी अस्पताल परिसरमा सञ्चालित निःशुल्क मोतियाविन्दुको शल्यक्रिया शिविरमा ६८ जना आँखाका बिरामीहरुको शल्यक्रिया भएको छ् । म्याग्दी र पर्वतको सामाजिक क्षेत्रमा क्रियाशील संस्था लायन्स क्लबहरुको संयुुक्त आयोजनामा आइतबारदेखि बिरामीहरुलाई लक्षित गरेर सुरु भएको शिविरमा मोतियाविन्दुको शल्यक्रिया गरिएको हो ।

यसअघि म्याग्दी र पर्वतको विभिन्न स्थानमा सञ्चालित आँखासम्बन्धी मोतियाविन्दु रोगको पहिचान शिविरमा कुल १ सय १२ जना बिरामीहरु भेटिएका थिए । तर पहिचान भएका बिरामीमध्ये कोहीले सुगरको औषधी सेवन गर्ने, कतिपय बिरामीको मोतियाविन्दुको अप्रेसन गर्नका लागि परिपक्व नभएको तथा कोही बिरामीहरु उपचार सेवा लिन नआएका कारण जम्मा ६८ जनाको मात्रै शल्यक्रिया गरिएको जनाइएको छ । दीर्घरोगी तथा औषधी सेवनकर्ता, शिविरमा नआउनु र परिपक्व नभएकाले पहिचान भए पनि सबै बिरामीको शल्यक्रिया नभएको लायन्स क्लब इन्टरनेशनल ३२५ बि वान नेपालका रिजनचियरपर्सन लोकेश पुनले बताउनुभयो ।

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकाको मुना र ताकम, मालिकाको दरबाङ, मंगलाको बाबियाचौर, रघुगंगाको भगवती र चिमखोला, अन्नपूर्ण गाउँपालिकाको भूरुङ–तातोपानी, बेनी नगरपालिकाको बेनी अस्पताल, क्याम्पसचोक, गलेश्वर एवं रत्नेचौर तथा पर्वतस्थित जलजला गाउँपालिकाको मल्लाजमा गरी १२ स्थानमा लायन्स क्लब तथा नेपाल नेत्रज्योती संघ जिल्ला शाखा म्याग्दीले शिविर सञ्चालन गरी मोतियाविन्दुका बिरामीको पहिचान गरेका थिए । आइतबार ३० जना मोतियाविन्दुका बिरामीहरुमा आँखाको शल्यक्रिया गरिएकोमा सोमबार ४८ जनाको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गरिएका सबै बिरामीहरुको आँखामा लगाइएको पट्टी खोलेर उनीहरुलाई डिस्चार्ज गरिएको आँखा उपचार शाखा बेनी अस्पतालका इन्चार्ज प्रकृति ढुङ्गानाले जानकारी दिनुभयो ।

ग्रामीण क्षेत्रमा सञ्चालन गरिएको आँखा शिविरमा गलेश्वर तथा चिमखोलामा भएको शिविरबाहेक २ हजार २२ जनाले आँखा चेकजाँचको शुविधा लिएको आँखा शिविरको मूल संयोजक समेत रहनुभएका लायन्स क्लबका रिजनचियरपर्सन लोकेश पुनले जानकारी दिनुभयो । म्याग्दी जिल्लाभित्र विभिन्न लायन्स क्लबहरु तथा पर्वत बेनीमा रहेको लायन्स क्लबको संयुक्त आयोजनामा सञ्चालित शिविरमा पहिचान भएका मोतियाविन्दुका बिरामीको हिमालय आँखा अस्पताल घारीपाटन पोखराका आँखा रोग विशेषज्ञ डाक्टर कृष्णा गुरुङको नेतृत्वमा ८ जनाको स्वास्थ्यकर्मीको टोलीले बेनीमै मोतियाविन्दुको शल्यक्रिया गरेको थियो ।

शल्यक्रिया शिविरमा नेपाल नेत्रज्योती संघ बेनी म्याग्दी, बेनी अस्पताल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीले प्राविधिक सहयोग उपलब्ध गराएका थिए । आँखा शिविरको आयोजकहरुमा लायन्स क्लब अफ बेनी म्याग्दी, म्याग्दी दोभान, बेनी सिटी, बेनी मल्लाज, म्याग्दी दरबाङ, बेनी पिस सिटी, बेनी महारानी, म्याग्दी मंगला, अन्नपूर्ण म्याग्दी, बेनी लभ्लीहिल र लियो क्लब अफ बेनी म्याग्दी रहेका थिए । शिविरमा लायन्स क्लबका सदस्यहरुले स्वयंसेवा गरेका थिए । लायन्स क्लबले हरेक वर्ष गाउँमा पुगेर शिविर सञ्चालन गर्दै आइरहेको छ भने पछिल्लो समय नेत्रज्योती संघले पनि आँखासम्बन्धी शिविर गर्ने गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्