अगुएरोले सिटी छोड्ने पक्का



लन्डन, (एजेन्सी)

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका स्टार फरवार्ड सर्जियो अगुएरोले यो सिजनको अन्त्यसँगै क्लब छोड्ने पक्का भएको छ ।सिटीले आधिकारिक रूपमा अगुएरोले यस सिजनको अन्त्यसँगै क्लब छाड्ने पुष्टि गरेको हो । अर्जेन्टिनाका ३२ वर्षीय फरवार्ड अगुएरोले १० वर्ष क्लबमा बिताएपछि क्लब छाड्न लागेका हुन् । सिटीसँग अगुएरोको सम्झौता यो सिजनभरिका लागि मात्रै थियो ।

सिटीले १० वर्षसम्म क्लबमा रहेर गरेको योगदानका लागि आभार व्यक्त गर्दै अगुएरोको नयाँ भविष्यका लागि समेत शुभकामना दिएको छ । क्लब र उनीबीच नयाँ सम्झौता नवीकरण नहुने भएपछि अगुएरोले यो सिजन सकिएसँगै अब फ्री ट्रान्सफरमा आफूले चाहेको क्लबमा जान पाउनेछन् ।अगुएरो सन् सन् २०११ मा स्पेनिस क्लब एथ्लेटिको मेड्रिडबाट सिटीमा अनुबन्ध भएका थिए । सिजन २०११–१२ बाट सिटीबाट खेल्न थालेका अगुएरोले त्यसयता सबैखाले प्रतियोगिताबाट अहिलेसम्म कुल ३ सय ८४ म्याच खेल्दै २ सय ५७ गोल गरेका छन् । उनी क्लबको इतिहासकै सर्वाधिक गोलकर्ता खेलाडी हुन् । त्यस्तै, प्रिमियर लिग इतिहासमै उनी सर्वाधिक गोल गर्ने गैर इंग्लिस खेलाडी पनि हुन् ।

अगुएरोले प्रिमियर लिगमा अहिलेसम्म २ सय ७१ म्याचमा १ सय ८१ गोल र ४६ गोलमा असिस्ट गरिसकेका छन् । त्यस्तै, सिटीबाट च्याम्पियन्स लिगमा ६७ म्याच खेल्दै ४३ गोल गरेका छन् । अगुएरो प्रिमियर लिगमा सर्वाधिक ह्याट्रिक गर्ने कीर्तिमानी खेलाडी पनि हुन् । उनले सिटीबाट चार प्रिमियर लिगसहित कुल १३ उपाधि जितेका छन् । अगुएरोले सिटीबाट च्याम्पियन्स लिगको उपाधि भने जित्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्