भुक्तानी सेवामा कडाइ गर्दै राष्ट्र बैंक



काठमाडौं, (नेस) 

भुक्तानी सेवा प्रदायक संस्थालाई संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा ग्राहक हित संरक्षण गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकले मंगलबार विभिन्न निर्देशन जारी गरेको छ ।सेवा प्रदायक कम्पनीले अब भुक्तानी कारोबार गर्दा हुने जोखिमको प्रभावकारी व्यवस्थापन तथा जोखिमसम्बन्धी नीति नियमको तर्जुमा गर्न छुट्टै जोखिम व्यवस्थापन इकाईको व्यवस्था गर्नुपर्ने भएको छ ।

त्यस्तै सेवा प्रदायक संस्थाले कारोबारमा निहित जोखिमको पहिचान, मापन, अनुगमन, व्यवस्थापन, नियन्त्रण र रिपोर्टिङका लागि जोखिम व्यवस्थापन नीति, प्रक्रिया तथा संरचना तयार पारी कार्यान्वयनमा ल्याउनुपर्नेछ ।आन्तरिक र बाह्य क्षेत्रबाट आउन सक्ने सञ्चालन जोखिम ( सुरक्षा जोखिम, सूचना जोखिम, जनशक्ति जोखिम, विपद् जोखिम) को पहिचान गरी त्यस्ता जोखिमको प्रभाव न्यूनीकरण गर्न आवश्यक प्रक्रिया अबलम्बन गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ ।यसैगरी भुक्तानीसम्बन्धी कारोबार गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत लामो बिदा बस्नु परेमा वा विदेश जाँदा राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने भएको छ ।

साथै यस्ता संस्थाको प्रमुख कार्यकारी अधिकृत नियुक्ति, राजिनामा तथा बर्खास्तको बारेमा सात दिनभित्र राष्ट्र बैंकलाई जानकारी गराउनुपर्नेछ।विद्युतीय माध्यमबाट भुक्तानी गर्ने क्रममा आउन सक्ने कठिनाइलाई सम्बोधन गर्न सूचना तथा गुनासो सुनुवाई डेस्क बिहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन गर्ने व्यवस्थापन मिलाउनुपनेलगायतका निर्देशन केन्द्रीय बैंकल जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्