मेगा बैंकले रिक्सा धितोमा रिक्सा चालकलाई कर्जा दिने



काठमाडौं, (नेस)  ।

मेगा बैंक नेपालले अटो रिक्सा खरिद गरी आफैं सञ्चालन गर्ने चालकका लागि विशेष सुविधा ल्याएको छ । मेगा बैंक र हन्सराज हुलासचन्द एन्ड कम्पनीबीच तीन पांग्रे अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्ने चालकका लागि रिक्सा नै धितो राखी कर्जा दिने सम्झौता भएको हो ।

सम्झौतामा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र हन्सराज हुलासचन्द एन्ड कम्पनी प्रालिका सञ्चालक अभिमन्यू गोल्छाले हस्ताक्षर गर्नुभयो । विपन्न तथा न्यून आय भएका रिक्सा चालकलाई उद्यमी बनाउने उद्देश्यले यो सम्झौता गरिएको हो । रिक्सा चालकले आफ्नै स्वामित्वमा तीन पाङग्रे अटो रिक्सा खरिद गरी आफंै सञ्चालन गर्नुपर्नेछ । त्यसका लागि सोही रिक्सा धितो राखे पुग्छ ।

मेगा बैंककी सीईओ खुञ्जेलीले अटो रिक्सा खरिद गरी आर्थिक उपार्जन गर्न चाहने न्यून आय भएका धेरैभन्दा धेरै व्यक्तिलाई देशभरका शाखा कार्यालयबाट छिटोछरितो ढंगले सर्वसुलभ ब्याजदरमा कर्जा उपलब्ध गराइने बताउनुभयो । नेपाल राष्ट्र बैंकको विपन्न वर्ग कर्जा निर्देशिका तथा बैंकको सरल कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही अटो रिक्सा खरिद गरी सञ्चालन गर्न चाहने चालकलाई मेगा बैंकले यो कर्जा प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्