दमरोगबारे जनचेतना जरुरी



दमको कुनै स्पष्ट कारण हुँदैन । वंशाणुगत कारण पनि एक मानिएको छ । अर्थात्, परिवारका अग्रजलाई यो रोग लागेको भए हुने आशंका बढी हुन्छ । दम हुने अर्को कारण पनि छ । वातावरणका एलर्जन्स वा इरिटेट्सप्रति बढी संवेदनशील व्यक्तिलाई पनि दम हुन सक्छ । उमेरसँग दमको कुनै सम्बन्ध छैन ।
यो कुनै पनि उमेरमा हुन सक्छ । ३० वर्षभन्दा मुनिकालाई दम हुनुमा एलर्जी जिम्मेवार हुन सक्छ । ३० वर्षभन्दा माथिकालाई वातावरणमा झुन्डिरहने हावाका कणले गर्दा पनि दम हुन सक्छ । बूढापाकालाई भने चुरोट, बिँडी, हुक्का वा भान्साको धुवाँ, चिसो हावा र भावनात्मक तनावले दम हुन सक्छ । दम भनेको श्वासप्रश्वाससम्बन्धी एउटा दीर्घ रोग हो । विभिन्न उमेर समूहका व्यक्तिमा विभिन्न किसिमका दम हुन्छन् ।

यसमध्ये मुख्य गरी सीओपीडी दम धुमपान गर्ने व्यक्तिमा, वायु प्रदूषण (घरभित्र र बाहिरको प्रदूषण)को कारणले हुन्छ । यस्तै कम उमेर समूह र विशेष गरी महिलाहरु, एलर्जीका समस्या भएका व्यक्तिहरुलाई आस्मा दमको समस्या देखिएको छ । साथै मुटुसम्बन्धी रोग भएका बिरामी, रक्तअल्पता र अन्य रोगका बिरामीलाई पनि स्वाँ–स्वाँ हुन्छ, त्यसलाई पनि सामान्यरुपमा दम नै भन्ने गरिन्छ । त्यसैले दम धेरै रोगको एउटा समूह हो भने शरीरमा हुने धेरै रोगको लक्षण पनि ।
खोकी र दम फरक–फरक स्थिति हुन् भन्ने विषेशज्ञहरूको राय छ । तैपनि दमबाट पीडितहरूलाई सामान्यरूपमा सास फेर्न असजिलो हुन्छ । र, उनीहरू प्रायः धेरै खोकिरहन्छन् । स्थायी खोकी दमको एउटा लक्षण हुन सक्छ । खोकी फोक्सोबाट हानिकारक कण निकाल्न सहयोग गर्ने शरीरको सामान्य क्रिया हो । यो कणमा सामान्यरूपमा धूलो, ब्याक्टेरिया, भाइरस, स्राव हुन्छ । यदि निरन्तर बढी नै खोकी लागिरहने गरेको छ भनेचाहिँ यो फोक्सोमा समस्याको संकेत हो ।
दम यस्तो स्थिति हो, जसले फोक्सोको हावा भित्र–बाहिर गर्ने नलीलाई प्रभावित गर्छ ।

दममा हावाको नलीको चारैतिर भएको मांसपेशी संकुचित हुन्छ र खुम्चिन्छ । यसले सास फेर्न गाह्रो हुन्छ । यसले हावाको नलीमा जलनसमेत हुन्छ । कहिलेकाहीँ टाँसिने पदार्थ कफ बन्छ, जसले हावाको नलीमा जम्मा भएर सास फेर्नमा समस्या उत्पन्न गर्छ । दममा फोक्सोमा भएको हावाको नली धेरै संवेदनशील हुन्छ र त्यसले चुरोटको धुवाँ, चिसो, परागकणजस्ता थुप्रै इरिटेन्टप्रति प्रतिक्रिया गर्छ र दमको स्थिति पैदा गर्छ । सामान्यतयाः वायु प्रदूषण तथा एलर्जीका कारण हुने आस्थमा उपचारबाट निको पार्न सकिन्छ । तर खोकी लाग्दालाग्दै पनि त्यसको उपचारै नगरी, स्वाँ–स्वाँ हुने, छाती कराउने अवस्थाको सिर्जना भएमा क्रोनिक आस्थमा हुने गर्दछ ।दमका रोगीले चिसोको समयमा आफूलाई न्यानो राख्नुप¥यो, सकेसम्म चिसोबाट बच्नुप¥यो । दम बिग्रेको खण्डमा तुरुन्त स्वास्थ्य संस्थामा जाने, स्वास्थ्य परीक्षण गर्ने र औषधिको मात्रा बढाउनुपर्ने हो भने बढाउनुपर्छ । मास्क प्रयोग गर्ने, वायु प्रदूषण भएको ठाउँमा आवतजावात कम गर्ने हो भने दम रोगीमा आउने थप समस्याबाट बच्न सकिन्छ ।

दम रोग श्वास–प्रश्वाससँग सम्बन्धित भएकाले सावधानीका उपाय पनि यसैसँग सम्बन्धित छन् । धुवाँ, धूलोलगायतका वातावरणीय प्रदूषणबाट जोगिनुपर्दछ । त्यसका लागि गुणस्तरीय मास्कको प्रयोग गर्नुपर्दछ । भुत्ला वा रौं भएका पशुपक्षीबाट टाढै बस्नुपर्दछ । जाडो समयमा दम रोगले झन् च्याप्छ । त्यसैले घर वा कोठालाई न्यानो पार्ने, न्यानो लुगा लगाउने गर्नुपर्दछ । सकेसम्म चिसोबाट बच्नुपर्दछ । फ्रिजमा राखिएका चिसो खानेकुरा पनि खानुहुँदैन ।हाछ्युँ आउने, नाक–घाँटी खसखसाउने समस्या छ भने एलर्जी हुन सक्छ । त्यसैले एलर्जी हुने काम वा चिजबाट टाढै रहनु बेस हुन्छ । एलर्जी भइहाल्यो भने तुरुन्त उपचार गर्नुपर्छ । दम भनेको श्वास–प्रश्वाससम्बन्धी दीर्घ रोग हो । दम पूर्णरुपमा निको नभए पनि विभिन्न किसिमको औषधिको प्रयोगबाट सबै दमका रोगीहरुले सामान्य जीवनयापन गर्न सक्छन् । तान्ने औषधिप्रतिको जनचेतना कम छ । धेरै मान्छेले यो औषधिलाई नकारात्मकरुपमा लिन्छन् र चिकित्सकले सल्लाह दिँदादिँदै पनि लामो समय प्रयोग गर्दैनन् । यस्ता समस्याले गर्दा धेरैजसो दीर्घ श्वास रोगीहरु उपचार नै नगराई बसिराख्ने समस्या धेरै ठाउँमा देखिएको छ ।
– विशाल भण्डारी, रौतहट ।

प्रतिक्रिया दिनुहोस्