बाँझो जमिनमा सुन्तला खेती, एउटै परिवारको बार्षिक ५ लाख कमाई



न्युज अफ नेपाल, पर्वत ।

बसाँईसराईका कारण रित्तो हुँदै गएको पर्वतको भोक्सिङ्ग गाउँमा बाँझो जमिन सदुपयोग गर्दै ब्यबसायिक सुन्तला खेती गर्न थालिएको छ ।

जिल्लाको महाशिला गाउँपालिका गाउँपालिका वडा न २ भोक्सिङका स्थानीयले बसाईसराई संगै बाँझो भएको जमिनलाई सदुपयोग गरेर ब्यवसायीक सुन्तला खेती गरेका हुन । सुन्तला खेती थालेपछि एउटै परिवारले बार्षिक ५ लाख रुपैया सम्म आम्दानी गर्न थालेका छन ।

दश बर्ष देखि सानो क्षेत्रफलमा शुरुवात गरेको सुन्तला खेती अहिले विस्तार गरेर स्थानीय जीवन गुरुङको परिवारले ठूलो मात्रामा खेती गरेको छ । गुरुङको परिवारले मात्रै झण्डै ६ सय सुन्तलाका विरुवा लगाएको छ । शुरुवातमा सानो क्षेत्रफलमा ब्यवसाय गरेको गुरुङको परिवारमा अहिले ४ सय ५० बोटबाट सुन्तला उत्पादन हुन शुरु गरेको छ । बाँकी बोट सानो भएका कारण क्रमशः उत्पादन हुने गुरुङले जानकारी दिनुभयो । गुरुङ्गले गत बर्ष मात्रै सुन्तलाको विक्रीबाट एक सिजनमा ४ लाख ५० हजार भन्दा बढि आम्दानी गर्न सफल हुनुभयो । ‘बसाईसराईपछि सबै जमिन बाँझो थियो, अहिले सुन्तला लगाएपछि राम्रो आम्दानी भैरहेको छ ।’ उहाँले भन्नुभयो ‘बर्षमा पाँच लाख रुपैया सजिलै कमाउन सकिने रहेछ ।’

गुरुङ्गले स्वादिलो सुन्तला काठमाण्डौ लगेर विक्री गर्नुभएको थियो । आफै ढुवानी गरेर बजारमा बिक्री गर्दा मूल्य धेरै पर्ने गुरुङ परिवारको भनाई छ । उनीहरुले सुन्तला विक्रीका लागि वस्तीसम्मै कच्चि मोटरवाटो पुगेको छ । उक्त बाटोमा सवारी साधानको प्रयोग गरी सुन्तला बिक्री स्थानीयले गरेका छन् । गुरुङ परिवारले सुन्तला खेतीको शुरुवात गरेपछि अन्य स्थानीयले पनि ब्यवसायीक रुपमा सुन्तला खेती गरेका छन् ।

स्थानीय भुवानसिंह गुरुङले पनि अहिले झण्डै ४ सय सुन्तलाका बोट रोप्नुभएको छ । गुरुङले लगाएका केही विरुवा उत्पादन शुरु भए पनि केहि विरुवामा उत्पादन हुन बाँकी छ । उत्पादन भएको सुन्तलालाई बजारको भने समस्या छैन । बाँझो जमिनमा सुन्तला खेती गर्दा जमिनको पनि सदुपयोग हुने र गाउँमै बसेर मनग्य आम्दानी गर्न सकिने भुवन गुरुङ्ग बताउनुहुन्छ । ‘ब्यवसायिक सुन्तला खेती गरेका कृषकलाइ सहज सडक सञ्जालको ब्यवस्थापन राज्यले गरिदिने हो भने अझै उत्पादन बढाउन सकिन्छ।’ गुरुङ्गले भन्नुभयो ‘सबै सुबिधाको खोजीमा शहर पसेपछि बाँझो भएका जमिनलाई हराभरा बनाउदै आम्दानी लिन सकिन्छ।’

जिल्लामा जलजलाको बाँसखर्क र मोदीको देउपुर पछि ठूलो मात्रामा सुन्तला खेती गरेको पाङ्गराङ्ग, भोक्सिङ्ग क्षेत्र हो । भोक्सिङ गाउँ आफैमा आलु गाउँको रुपमा परिचित छ । ठूलो मात्रामा आलु उत्पादन हुने भोक्सिङ अव सुन्तला गाउँ पनि बन्ने भएको छ ।
समाप्त चैत्र १६

प्रतिक्रिया दिनुहोस्