वायु प्रदूषण न्यूनीकरणतर्फ लागि हालौं



हावाविना हामी जीवित रहन सक्दैनौं । बाँच्नको लागि चाहिने वायु प्रदूषित भएमा हाम्रो स्वास्थ्यलाई पनि असर पर्छ । कुनै पनि हानिकारक रासायनिक, भौतिक तथा जैविक तत्वहरु वायुमण्डलमा मिसिँदा वायु प्रदूषण बढ्दै गएको छ । वायु प्रदूषणका कारण मानिसमा विभिन्न किसिमका दीर्घरोगहरुको समस्या पनि बढ्दै गएको छ ।

वायु प्रदूषणका कारण विश्वमा करिब ४० लाख मानिसले प्रतिवर्ष ज्यान गुमाउने गरेका छन् । नेपालमा यो संख्या वार्षिक १० हजारभन्दा बढी छ । विश्वमा मानव मृत्युका प्रमुख कारणहरूमध्ये घरभित्रको धुवाँ चौथो स्थानमा पर्दछ । पहिलो, दोस्रो र तेस्रो स्थानमा क्रमशः कुपोषण, असुरक्षित यौन सम्र्पक र असुरक्षित खानेपानी तथा सरसफाइको कमी रहेका छन् । घरभित्रको धुवाँको अध्ययन भन्नाले यसको उत्पति, संग्रह र लेखाजोखाको अध्ययनलाई बुझाउँछ ।वायु प्रदूषणले विभिन्न किसिमले मानव स्वास्थ्यमा हानि गर्दछ । यो श्वासप्रश्वास र फोक्सोको रोगको प्रमुख कारण हो । खास गरेर महिला तथा उनीहरूका साना बालबच्चाहरू बढी समय भान्छाकोठामा बस्ने भएकाले उनीहरूलाई धुवाँले बढी खराब असर गर्दछ । यसका कारण घाँटी खसखसाउने, खोकी लाग्ने, कफ आउने, नाकबाट पानी बग्ने, आँखा बिझाउने, चिलाउने, हेर्न कठिनाइ हुने, आँसु आउने, घाँंटी दुख्ने, बच्चालाई निमोनिया हुने, मानसिक तनाव हुने आदि अल्पकालीन असरहरू हुन् । अत्यधिक धुवाँमा बसेको खण्डमा श्वास फेर्न गाह्रो हुने र निस्सासिएर मृत्युसमेत हुन सक्छ ।

धेरै समयसम्म दूषित वायु भएको वातावरणमा बस्नेहरूमा दम, दीर्घखोकी, फोक्सोको क्यान्सर, मोतियाविन्दु आदि लाग्ने सम्भावना बढी हुन्छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार धेरै समय धुवाँमा बस्ने गर्भवती महिलाका बच्चा समयभन्दा अगाडि जन्मने, कम तौलको बच्चा जन्मने र अत्यधिक प्रदूषणका कारण मृत बच्चाको जन्म हुन सक्ने सम्भावना रहन्छ । चुरोट सेवन गर्ने महिलाको अनुहारको चम्किलोपना हराउने, छाला पातलो तथा तन्किने हुन्छ । चुरोट सेवन क्यान्सरको प्रमुख कारक हो ।केही समयअघि लुम्बिनी क्षेत्रमा भिक्षुहरू अत्यधिक बायु प्रदूषणका कारण घर फिर्ता जान लागेको, मास्क प्रयोग गरेर योग र ध्यान गर्ने गरेको जस्ता खबर आएका थिए । हालसालै पनि निर्माणका कारण त्यस क्षेत्रको वायु प्रदूषणको अवस्था भयावह भएको खबर आइरहेका छन् । चितवन, पोखरा, विराटनगर, धुलिखेल आदि शहरहरूमा पनि काठमाडौंसरह वा त्यो भन्दा बढी प्रदूषण भएको पाइएको छ । एकातिर यसले पर्यटन क्षेत्रमा असर गर्ने र अर्कोतिर बालबालिकाको स्वास्थ्यमा नराम्रो असर पनेछ । त्यस्तै निर्माण, व्यापार, अफिसका कर्मचारी, बाटोमा हिँड्ने बटुवा, विदेशी पाहुना, बाल, वृद्ध, युवा, हरेक क्षेत्र र पेसाका मानिसहरूलाई यसले प्रभाव पार्छ । उनीहरुलाई विभिन्न रोगले पीडित बनाउँछ ।

वास्तवमा पूरा काठमाडौंको आकाश नै प्रदूषित छ । त्यसैले चिकित्सकले काठमाडौंमा बिहान मोर्निङ वाक नगर्न सल्लह दिएका छन् । त्यसमा पनि चक्रपथ क्षेत्र, बढी सवारी चाप हुने क्षेत्रहरू रत्नपार्क, पुतलीसडक, चाबहिल, बल्खुु, सातदोबाटो आदि स्थान बढी जोखिममा छन् । उपत्यकाका हरेक क्षेत्र र व्यक्ति वायु प्रदूषणको चपेटामा छन् ।विशेष गरी खुलारूपमा आगो बाल्ने, सडकमा उड्ने धूलो, धुवाँ, सवारीसाधनको उत्सर्जन हुने प्रदूषण, साइकल वा अन्य वातावरण मैत्री सवारीसाधनको प्रयोगमा कमी, यहाँको निर्माण कार्य, इँटाभट्टा, विभिन्न उद्योगको उत्सर्जन, हरियालीको कमी, वायु गुणस्तर मापनको कमजोर व्यवस्था र अप्रभावकारी अनुगमन, जनचेतनामा कमी र अधिक सवारीसाधनहरू डिजेल–पेट्रोलबाट चल्नु वा विद्युतीय सवारीसाधनको प्रयोग बढाउन नसक्नु आदि कारणहरू काठमाडौंमा वायु प्रदूषण बढ्नुका कारण हुन् ।जुन–जुन कारणले वायु प्रदूषण भैरहेको छ ती–ती स्थानमा तिनको नियन्त्रण गर्नु नै वायु प्रदूषणमा कमी ल्यानु हो । खुलारूपमा फोहोर नजलाउने, विशेष गरी प्लास्टिक त जलाउँदै नजलाउने गर्नु बेस हुन्छ । सडकको धूलो नियन्त्रण गर्नुपर्छ । कोटेश्वरदेखि चाबहिल आदि रिङरोड हेर्नु भो भने नर्क यही हो जस्तो लाग्छ । कहाँको कान्तिपुरी नगरी, कहाँको नारकीय जीवन । अहिले काठमाडौंमा मोटरसाइकलमा हेपा फिल्टर राखेर चलाउने हो भने धेरै हदसम्म काठमाडौंको आकाशको प्रदूषण हटाउन सकिन्छ ।

त्यस्तै इँटा भट्टाको प्रदूषण नियन्त्रण अर्को विषय हो । हरेक सवारीसाधनको वायु प्रदूषण उत्सर्जनको अवस्था जाँच गरी कडाइका साथ लागू गर्नु जरुरी छ । भारतमा प्रत्येक पेट्रोल पम्पमै सवारीसाधनबाट उत्सर्जन हुने वायु प्रदूषण जाँच गर्ने मेसिन हुन्छ । सम्भव भएका स्थानमा हरियाली, साइकल चलाउनेहरूलाई प्रवद्र्धन आदि कुरामा ध्यान दिनुप¥यो ।वायु प्रदूषण नियन्त्रणका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन रणनीति निर्माण गर्नुपर्छ । दीर्घकालीन रणनीतिमा निश्चित प्रतिशत सवारीसाधन इलेक्ट्रिक गर्ने हुन सक्छ । उद्योग र निर्माणबाट आउने प्रदूषण नियन्त्रणका लागि मापदण्ड बनाई कडाइका साथ लागू गर्ने हुन सक्छ, जेनेरेटर त अहिले कम भैसकेको अवस्था छ, फेरि तिनीहरू चलाउन नपर्ने गरी विद्युत् आपूर्ति सुनिश्चितताको योजना बनाउनुपर्ला ।अब बन्ने शहरमा वातावरण मैत्री ग्रीन सिटीको अवधारणा ल्याउनुपर्छ । जनचेतना अभिवृद्धि गर्ने र प्रदूषण गर्नेलाई दण्ड सजाय गर्ने अनि प्रत्येक घर–परिवार प्रदूषण नियन्त्रणमा संलग्नता अनिवार्य गर्ने व्यवस्था मिलाउनुपर्छ ।

बाहिरको बायु प्रदूषण तुरुन्तै चाहेको बेलमा हटाउन सकिँदैन । यस्तो अवस्थामा आफू बसेको घर, अफिस र कोठामा यसको नियन्त्रणका उपायहरू अपनाउनुपर्छ । घरभित्रको धुवाँ, धूलो, ढुसी, गन्ध, वायु प्रदूषणले हुने दम, क्यान्सर, एलर्जी, दीर्घखोकी, रोगको संक्रमण, मोतिविन्दु, घाँटी दख्ने, आँखा बिझाउने चिलाउने र हेर्न गाह्रो हुने, नाक रसाउने, तनाव बढ्ने, निर्णय प्रक्रियामा कमी आउने, स्वास फेर्न गाह्रो र अधिक वायु प्रदूषणले हुने डिप्रेसन, डिमेन्सियाजस्ता समस्याबाट बच्न सक्नुपर्छ । मास्क लगाउने र तरकारी तथा फलफूलको विषादी हटाउने उपकरण प्रयोग गर्नु जरुरी छ । राजनीतिक इच्छाशक्ति हुने र सोही बमोजिम विज्ञहरूको अध्ययनअनुसार नेतृत्वबाट अभियान थालनी हुने अनि कर्मचारीतन्त्र र आमनागरिकबाट त्यसको पालना हुने हो भने वायु प्रदूषणमा न्यूनीकरण गर्न असम्भव छैन ।
– स्वरुप कार्की, ललितपुर 

प्रतिक्रिया दिनुहोस्