टर्कीको लगातार दोस्रो जित



लन्डन, (एजेन्सी)  ।

फिफा विश्वकप फुटबलका लागि युरोपियन महादेशमा जारी छनोट खेलअन्तर्गत टर्कीले लगातार दोस्रो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा टर्कीले नर्वेलाई उसैको भूमिमा ३–० गोलअन्तरले पराजित गरेको हो । टर्कीलाई प्रभावशाली जित दिलाउन ओज तुफानले दुई गोल गरेका थिए । उनले पहिलो गोल खेलको चौथो मिनेटमा गरेका थिए । त्यसपछि दोस्रो गोल खेलको २८औं मिनेटमा काग्लार सोयुनसुले गरे ।

घरेलु टोलीले टर्कीमाथि बढी दबाब बनाएर आक्रामक खेले पनि गोल निकाल्न भने सकेन । सोही क्रममा ५९औं मिनेटमा ओजन तुफानले नै व्यक्तिगत दोस्रो गोल गरेपछि खेल टर्कीले सहजै जित्यो । टर्कीले यसअघि पहिलो खेलमा आफ्नो भूमिमा बलियो टिम नेदरल्यान्ड्सलाई ४–२ गोलअन्तरले हराएको थियो ।यसअघि पहिलो खेलमा नर्वेले ग्रिबाल्टारलाई हराएको थियो । अब यो जितपछि टर्की दुईवटै खेल जितेर ६ अंकका साथ समूहको पहिलो स्थानमा छ । यसै समूहको अर्को खेलमा नेदरल्यान्ड्सले आफ्नो घरेलु मैदानमा लाट्भियामाथि २–० को सहज जित निकाल्यो । यसअघि पहिलो खेलमा नेदरल्यान्ड्स टर्कीसँग अप्रत्यासित ४–२ ले हारको शिकार भएको थियो ।आफ्नो भूमिमा नेदरल्यान्ड्सका लागि खेलको ३२औं मिनेटमा स्टेभेन बर्घिइजले पहिलो गोल गरेका थिए । त्यसपछि दोस्रो गोल खेलको ६९औं मिनेटमा लुका डे जोङले गरेका थिए । अब यो जितपछि समूह ‘जी’ मा रहेको नेदरल्यान्ड्सको दुई खेलबाट ३ अंक भएको छ । टर्की र मोन्टेनेग्रो तीनवटै खेल जितेर समान ६–६ अंकका साथ पहिलो र दोस्रो स्थानमा छन् ।

त्यस्तै, बेल्जियम आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बेल्जियम चेक रिपब्लिकसँग १–१ को बराबरीमा रोकिएको हो । खेलमा पछि परेको अवस्थामा गोल गरेर बेल्जियमले बराबरी गोल गरे पनि त्यसपछि थप गोल गर्न नसक्दा बराबरीमै चित्त बुझाउन बाध्य भयो । यसअघि बेल्जियमले वेल्समाथि ३–१ को जित निकालेको थियो ।पहिलो हाफ गोलरहित सकिएको खेलमा चेकले खेलको ५०औं मिनेटमा अग्रता लिएको थियो । सो गोल लुकास प्रोभोडले गरेका थिए । तर, त्यसको १० मिनेटमै बेल्जियम खेलमा फर्कियो । स्टार फरवार्ड रोमेलु लुकाकुले गोल गर्दै खेल १–१ बनाए । यो बराबरीपछि बेल्जियम दुई खेलपछि ४ अंकका साथ समूह ‘ई’ को दोस्रो स्थानमा र समान ४ नै अंक भएको चेक शीर्ष स्थानमा छ ।त्यस्तै, अर्को बलियो टोली क्रोएसियाले पनि जित निकालेको छ । यसअघि पहिलो खेलमा स्लोभेनियासँग १–० ले पराजित क्रोएसियाले दोस्रो खेलमा साइप्रसलाई पराजित गरेको हो । क्रोएसियाका लागि एकमात्रै गोल खेलको ४०औं मिनेटमा इभान पेरिसिचले गरेका थिए । अब यो जितपछि क्रोएसिया दुई खेलबाट ३ अंक बनाएर समूह ‘एच’ को तेस्रो स्थानमा छ ।
त्यसै गरी, आफ्नो दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन पोर्चुगल बराबरीमा रोकिएको छ । सर्बियाले पोर्चुगललाई २–२ को बराबरीमा रोकेको हो । सर्बियाको घरेलु मैदानमा पाहुना टोली पोर्चुगलले खेलको ३६औं मिनेटमा पुग्दा नै दुई गोलले अग्रता लिए पनि त्यसलाई बचाउन नसकेपछि अंक बाँड्न बाध्य भएको हो ।

घरेलु टोलीविरुद्ध पोर्चुगलका लागि दुवै गोल युवा फरवार्ड डिएगो जोताले गरेका थिए । उनले दुवै गोल हेडिङमार्फत गरेका हुन् । पहिलो गोल खेलको ११औं मिनेटमा बर्नान्डो सिल्भाको पासमा उनले डिबक्स भित्रबाट हेडिङमार्फत् गरेका थिए । त्यसपछि दोस्रो गोल खेलको ३६औं मिनेटमा जोताले नै हेडिङमार्फत गरेपछि पोर्चुगल पहिलो हाफसम्म दुई गोलले अघि रहेको थियो ।तर, दोस्रो हाफ शुरु भएको ३४ सेकेन्डमै सर्बियाका लागि एलेक्सान्डर मिट्रोभिचले एक गोल फर्काए । त्यसपछि ६०औं मिनेटमा निकोला मिलेनकोभिचले गोल गरेपछि खेल २–२ को बराबरी भयो । यो बराबरीपछि समूह ‘ए’ मा सर्बिया ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । पोर्चुगलको खातामा पनि समान ४ अंक नै छ । त्यस्तै, अन्य खेलमा मोन्टेनेग्रोले ग्रिबाल्टारलाई ४–१ ले पराजित गर्दा बेलारुसले पनि इस्टोनियालाई ४–२ ले तथा लक्जेमवर्गले आयरल्यान्डलाई १–० ले पराजित ग¥यो ।

प्रतिक्रिया दिनुहोस्