दीपक, मन्डे र आर्यन सम्मानित



काठमाडौं, (नेस)  ।

करातेका दीपक श्रेष्ठ, मन्डेकाजी श्रेष्ठ र आर्यन रन्जित शनिबार सम्मानित भएका छन् । चौथो जुनियर खुला कराते तथा किक बक्सिङ प्रतियोगिताको समापनका अवसरमा आयोजक नेपाल सितोरियो कराते संघ, छाउनी शाखा डोजोले उनीहरुलाई सम्मान गरेको हो ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र आयोजक छाउनी डोजोका अध्यक्ष महेश रन्जितले उनीहरुलाई एक कार्यक्रमबीच सम्मान गरे । मन्डे र आर्यनलाई प्रशंसा पत्रसहित माउन्टेन बाइक प्रदान गरियो । दीपक प्रशंसा पत्रबाट सम्मानित भए ।दीपक आठौं र नवौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन् ।

मन्डेले १३ औं सागमा दोहोरो स्वर्ण जितेका थिए । सागको एकै संस्करणमा दोहोरो स्वर्ण जित्ने मन्डे एक्लो नेपाली कराते खेलाडी हुन् । जुनियर खेलाडी आर्यन विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता हुन् ।सोही अवसरमा करातेकर्मी साइला गमाल, बसन्तराज वाइबा र सिर्जना अधिकारी, सांसद विमल केडिया तथा समाजसेवी सुचित्रा श्रेष्ठ पनि सम्मानित भए ।

प्रतिक्रिया दिनुहोस्