चुनाव स्थगनपछि व्यवसायीमा अन्योल



हेटौंडा, (नेस)

मकवानपुर उद्योग वाणिज्य संघको चैत २३ गतेका लागि तय भएको निर्वाचन रोकिएपछि उद्योगी व्यवसायीका क्षेत्रबाट मिश्रित आवाज आएको छ । कसैले उक्त निर्णयको स्वागत गरेका छन् भने कतिपयले खुलेर विरोध जनाएका छन् ।संघका पूर्वमहासचिव एमव् अध्यक्ष उम्मेदवार महेन्द्र राउतले संघको ५४औं वार्षिक साधारणसभा तथा अधिवेशन हठात् स्थगित गरिएको भन्दै साधारणसभा तथा अधिवेशन यथाशीघ्र गर्न माग गर्नुभएको छ ।

कोभिड–१९ संक्रमणको सम्भावित जोखिमबाट बच्न भन्दै वर्तमान कार्यसमितिले चैत २१, २२ र २३ गतेका लागि तय भएको संघको साधारणसभा तथा अधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो । सम्बन्धित सबै पक्षसँग आवश्यक छलफल गरी सुरक्षा मापदण्ड अपनाएर साधारणसभा तथा अधिवेशन गर्नुपर्ने राउतको माग छ । निर्वाचन समिति, संघ पूर्वअध्यक्षहरु, प्रत्यासी उम्मेदवारसमेतको उपस्थितिमा उद्योगी व्यवसायी तथा सदस्यको राय सुझावका आधारमा वैकल्पिक उपायसहित कार्यक्रम निर्वाधरुपमा अगाडि बढाउन उहाँले आग्रह गर्नुभयो ।साधारणसभा र अधिवेशनले उद्योगी व्यवसायीमा उत्साह, उमंग र पर्वको आकार ग्रहण गर्दै अघि बढिरहेको अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर साधारणसभा गर्नुपर्ने उहाँको धारणा छ । राउतले अर्को निर्णयअनुसार चुनावी गतिविधि अगाडि बढ्ने उल्लेख गर्नुभएको छ ।

संघको चुनाव चैत २३ गतेको लागि तय भएको थियो । मिति तय भएपछि झण्डै एक महिनादेखि चुनाबी माहोलले सिंगो मकवानपुर नै चुनाबमय बनिरहेको थियो । तर, चुनाव आउन १३ दिनमात्र बाँकी रहँदा संघको निर्वाचन स्थगन भएको छ । कोरोना भाइरस संक्रमण जोखिमको कारण देखाउँदै मिति निर्धारण भइसकेको चुनाव रोकिएको छ ।जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार सुरक्षा अपनाउन जिल्लाबासीलाई अनुरोध गर्दै जारी गरेकोे विज्ञप्तिमा भेला नहुनु, मास्क, सेनिटाइजरजस्ता अतिआवश्यक स्वास्थ्य सामग्री प्रयोग गर्न आग्रह गरेको थियो । यसको प्रभाव मकवानपुर संघको चुनाबमा प्रत्यक्षरुपमा पर्नगयो ।संघ अध्यक्ष कृष्ण कटुवालसँगै अध्यक्षका केही उम्मेदवारले जिल्ला प्रशासन कार्यालय पुगेर चुनाव रोक्ने निर्णय गरेर फर्किए । चुनाव रोकिने हल्ला चल्नासाथ अध्यक्षका अर्का उम्मेदवार राजकुमार न्यौपाने प्यानलका उम्मेदवारहरु प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल भेट्न जिल्ला प्रशासन कार्यालय पुगेका थिए । न्यौपाने प्यानल प्रशासन जाँदा आफूले चुनाव रोक्नुपर्छ भन्ने अभिव्यक्ति नदिएको प्रमुख जिल्ला अधिकारी रिजालले दाबी गर्नुभयो ।

उम्मेदवार न्यौपानेले बहुमतको डण्डा चलाएर अवैधढंगबाट निर्वाचन सार्न खोजिएको बताउनुभयो । आफूहरु अन्यायमा परेको हुँदा न्याय पाउने सवालमा प्रजिअले सहजीकरण गरिदिनुपर्ने उहाँको माग छ । हार्ने निश्चित भएका कारण धाँधली गर्न चुनाब स्थगित गरिएको न्यौपानेको तर्क छ । तर, अध्यक्षमा उम्मेदवारी दिने बताइएका वर्तमान उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल चुनाव रोकिँदा व्यक्तिगतरुपमा आफूलाई खल्लो लागेको तर संस्थाको हितको कार्य भएका कारण राम्रै निर्णय रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्