डढेलो नियन्त्रण नहुँदा बनमा जल्दै करोडौँको काठ



न्युज अफ नेपाल, हेटौंडा ।

स्थानीय बनक्षेत्रमा हिजोआज डँढेलो सल्किएको छ । हुरीबतासको मौसम शुरु भएसँगै स्थानीय बनजंगलमा फेरि डँढेलो लागेको हो । जिल्लामा डँढेलो नियन्त्रणका लागि हालसम्म उचित प्रक्रिया नअपनाइएका कारण यसपटक डँढेलो नियन्त्रण निष्प्रभावी देखिएको छ ।

यसको प्रत्यक्ष प्रभाव स्थानीयको स्वास्थ्यमा त परेको छ नै, मकवानपुरका सामुदायिक बनहरुका उपभोक्ता समितिले काठ समयमै बिक्रीको अनुमति नपाउँदा डँढेलेका कारण करोडौं मूल्य बराबरका काठ जल्ने अबस्थामा पुगेका छन् भने कतिपय त जलेर नष्ट भइसकेका छन् ।घाटगद्धी लामो समयदेखि खुला एवम् एकैठाउँमा रहेकाले काठमा धमिरा लाग्ने, पानीले भिज्दा काठमा चिराचिरा पर्ने, कुहिने, माटोले खाने जस्ता समस्या पनि देखिएको बन समितिहरुले बताएका छन् ।

बकैया गाउँपालिकाका—७ को हात्तीचरण सामुदायिक बनमा एक हजार एकसय ३०, बागमती गाउँपालिका—८ को अमृता सामुदायिक बनमा पाँच हजार आठ सय तीस क्युफिट, कालीवेदघारी, सामुदायिक बनमा ९ हजार ६ सय ४६ क्युफिट र बागमती—५ मा रहेको कटुसपानी सामुदायिक बनमा रहेको आठ हजार आठ सय ९७ क्युफिट काठ डँढेलोको उच्च जोखिममा रहेको बन समितिहरुले बताएका छन् । यी त केही नमूनामात्र हुन् ।

पूर्वी मकवानपुरको बागमती गाउँपालिका—८ मा रहेको अमृता सामुदायिक बन समितिले कटान गरिराखेको सालको काठ सरकारले जेठ १५ देखि बेचबिखनमा रोक लगाएपछि करिब पा“च हजार आठ सय क्युफिट काठ जल्ने र बिग्रने अबस्थामा पुगेको समिति अध्यक्ष मानबहादुर नेगी बताउनुहुन्छ ।

करिब ४० लाख बराबरको काठ रहेको नेगीको भनाइ छ । हाल डढेलका कारण डर रहने अबस्था रहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । डढेलोका कारण समितिले धेरै दुःख खेप्नुपरेको उहाँको गुनासो छ । बकैया गाउँपालिका—७ को हात्तीचरण सामुदायिक बन समितिमा एक हजार एक सय ३० क्युफिट काठ छ । समिति अध्यक्ष पवनसिं गुरुङका अनुसार ती काठ डँढेलोका कारण जोखिममा छन् ।

करिब दुई वर्षअघि कटान गरिएका काठ छन् । ‘स्थानीय उपभोक्तालाई बिक्री गरेर बाहिरी जिल्लामा समेत बिक्री गर्ने सोच थियो । तर, त्यो सफल हुन सकेन,’ गुरुङ भन्नुहुन्छ । काठ बिक्री गर्ने निर्णय चाँडै नभए ती काठ, दाउराका रुपमा परियात हुने अध्यक्ष गुरुङले गुनासो गर्नुभयो ।

‘सकभर त सुरक्षित तरिकाले राखेका छौं । तर, कतिञ्जेल यसरी टिक्ला र ? सरकारले फुकुका गरे सरकारले राजस्व पनि पाउने थियो,’ गुरुङ सुझाउनुहुन्छ । यस सम्बन्धमा सहज वातावरण बनाइदिनुप-यो भनेर हामीले माग गरेका छौं । तर, कसले सुन्ने हाम्रो कुरा ?,’ गुरुङको प्रश्न छ ।काठ बिक्री गर्न नपाउँदा समितिमा रहेको काठको गुणस्तरमा कमी आउने भएकाले चाँडै यसको समस्या समाधान गर्नु आबश्यक रहेको उपभोक्ताको भनाइ छ ।

काठ फुकुवा नहुँदा आमनागरिकको समस्या समाधान गर्न फर्निचर उद्यमीले समिलबाट ल्याउने गरेको फर्निचर व्यबसायी महासंघ केन्द्रीय अध्यक्ष रामप्रसाद न्यौपाने बताउनुहुन्छ । समिलमा भनेजस्तो काठ पाइँदैन, उपभोक्ता प्रायः सालको काठ खोज्छन् । मागअनुसार पु-याउन सकेका छैनौं,’ न्यौपानेको भनाइ छ ।

बन संरक्षणमा खर्चवृद्धि हुने भएका परम्परागत् पद्धतिको बुढा/पुराना, रोगी, सुकेका रुखकटान गरी नयाँ बिरुवा रोप्नु उत्तम हुने उपभोक्ताको भनाइ छ । डिभिजन बन कार्यालय मकवानपुर, हेटौंडाको तथ्यांकअनुसार वैज्ञानिक बन व्यबस्थापनबाट उत्पादित तथा घाटगद्धीमा मौज्दात काठ/दाउरा २५ हजार पाँच सय ५७ दशमलव ७४ क्युफिट छन् ।

प्रतिक्रिया दिनुहोस्