माछा पोखरीको नाममा खेतीयोग्य जमीन खोला बनाउँदै गाउँपालिका



न्युज अफ नेपाल, भद्रपुर ।

माछा पोखरी बनाउने बहानमा खेतियोग्य जमीन खाल्डो बनाएर इँटा उद्योगले कृषकमाथि अन्याय गरेको स्थानीयले आरोप लगाएका छन् । जमीन नजिकै रहेको झापा कचनकवल ६को चण्डी इँटा उद्योगले स्थानीयको जमीन खरिद गरी केही दिनयताबाट माटो लैजान थालेपछि सधिँयारका कृषकले सो कामको बिरोध जनाउँदै आएका छन् ।

जमीनको माटो उठाएमा गोली खान तयार रहेको उनीहरुको आक्रोस छ । स्थानीय आसमा साबुद्दिनको एक विघा, बब्लू मियाँबाट साढे ७ कठ्ठा र रमा राजवंशीको ८ कठ्ठा खेतियोग्य जमीनलाइ सो उद्योगले खरिद गरेको छ । उद्योगले खरिद गरेपछिका सधिँयार मनोज भेटवाल,भद्रीया राजवंशी,अमृत लाल राजवंशीको जमीन जोखिममा परेको छ । सोही क्षेत्रमा पावनी राजवंशीले समेत उब्जनीका लागि ७ कठ्ठा जमीन खरिदका लागि ६ लाख रुपैयाँ अग्रीम रकम दिइसकेकी छन् ।

यी लगायत दर्जन बढी कृषकहरुको जमीन सो क्षेत्रमा रहेको छ । इँटा उद्योगले प्रहरी प्रशासनको बलमा खेति गरेर खाने किसानमाथि पेटमा लात मारेको जग्गा धनी अमृतलाल राजवंशीले बताउँनुभयो । चलनचल्तीको भन्दा बढी रकममा खरिद गरेर गरिब किसानलाइ पैसाको लोभ देखाएर उद्योगले किसान मारेको उहाँको भनाइ छ । गरिव किसानको गरिखाने खेत नै खोला बनाइदिएपछि बाच्ने कुनै आधार नभएको सधिँयार भाद्रीया राजवंशीले बताउँनुभयो । राति राति प्रहरी राखेर उद्योगले माटो लैजाने गरेको उहाँले बताउँनुभयो ।

‘म गोली खान तयार छु तर, उद्योगलाइ माटो लैजान दिन्न उहाँले भन्नुभयो । ’ जमीन भाडमा लिएर धान तथा डालेघाँस लगाउँदै आइरहेको अवस्थामा उद्योगले माटो लैजान थालेपछि समस्यामा परेको सृजना कृषि फर्मका सञ्चालक तथा सधिँयार मनोज भेटवालको भनाइ छ । खेतको पानी सवै खाल्डो तिर रसाउन थालेपछि भाडामा लिएको जमीनले उब्जनी नदिने उहाँले बताउँनुभयो ।

खेतियोग्य जमीनमा सिँचाइ सुविधाका लागि सहकारीले अनुदान स्वरुप पानी तान्ने मटर ,विजुली, सोलार जडान गरी किसानलाइ राहत उपलब्ध गराए पनि इँटा उद्योगका कारण कृषकहरु विचल्लीमा परेको नौलो भविश्य साना किसान सहकारीका प्रवन्धक लक्ष्मी बजगाइँले बताउँनुभयो । तत्काल उद्योगले जमीनको माटो लैजना बन्द गरिनु पर्ने उहाँको भनाइ छ । सरकारले कचनकवलल गाउँपालिकालाइ धान सुपरजोन घोषणा गर्ने र सवै इँटा उद्योग सञ्चालन गर्ने यो कुन नियम हो उहाँले भन्नुभयो ।

गाउँपालिकाले माछा पोखरीका नाममा बर्षेनी बजेट विनीयोजन गर्दै इँटा उद्योगलाइ माटो बेच्ने काम बन्द गरिनु पर्ने वडा नम्बर ६ का अध्यक्ष कुलबहादुर कार्कीले बताउँनुभयो । वार्षिक १८ विघाको माटो गाउँपालिकाबाट उत्खनन भइरहेकोले अबकोे केही वर्षभित्र गाउँपालिका खोलामा परिणत हुने उहाँको भनाइ छ । सरकारी मापदण्ड पुर्याएर काम गर्नुपर्ने उनको भनाइ छ । कचनकवलमा हालसम्म ६ वटा इँटा उद्योग सञ्चालनमा रहेको उहाँले जनाउँनुभयो ।

व्यवसाय गर्ने उद्देश्यले माटो उत्खनन गरिएको चण्डी इँटा उद्योग सञ्चालक विष्णु घिमिरेले बताउँनुभयो । स्थानीयको अनुमतिमा नै माटो लैजादै आइरहेकोमा केही उचन्ते पेशामा लागेकाहरुको फटाइ भएको उहाँको भनाइ छ । गाउँपालिका भरी पोखरी नै पोखरी खनिरहदा कोही नबोल्ने तर व्यवसायिक रुपमा काम गर्न लाग्दा विरोध जनाउनु भनेको व्यवसायीमाथि आक्रमण भएको उहाँको भनाइ थियो ।
स्थानीय स्तरमा यो विषयमा कानून नवनेको हुदाँ दुवै पक्ष छलफलगरी निकास निकालिने गाउँपालिका उपाध्यक्ष नीमसरी राजवंशीले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्