मोदीको भ्रमणविरुद्ध बंगलादेशमा विरोध प्रदर्शन, ४ को मृत्यु (तस्वीरसहित)



काठमाडौँ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणमा आउने भएपछि बंगलादेशमा विरोध प्रदर्शन गरिएको छ ।शुक्रबार भएको विरोध प्रदर्शनमा ४ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री मोदीको भ्रमणको विरोधमा प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो। राजधानी ढाकाको बैतुल मुकरराम क्षेत्रमा भएको विरोध प्रदर्शन र झडपमा परेर थुप्रै पत्रकारहरू समेत घाइते भएका छन् ।

बंगलादेशी सञ्चारमाध्यामहरुका अनुसार स्थानीय हात्जारी मदरसामा भएको प्रार्थनापछि विरोध जुलुस निस्किएको थियो । सो जुलुस हिंसात्मक बन्दै गएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । चटगाउँ मेडिकल कलेजका एक अधिकारीले नाम प्रकाशित नगर्ने सर्तमा भने कि अस्पतालमा ल्याइएका कम्तीमा चार घाइतेको मृत्यु भएको छ ।

अर्का एक जना हिफाजात इस्लाम संगठनमा आवद्ध प्रदर्शनकारीहरूको पनि मृत्यु भएको छ। हिफाजात इस्लाम संगठनका नेता मुफीबुर रहमान हामिदीले प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको आरोप लगाए । यद्यपि, प्रहरीले गोली चलाए नचलाएको बारेमा भने स्वतन्त्र रुपमा पुष्टि भैसकेको छैन ।

केही दिनदेखि ढाकामा धेरै मुस्लिम नेताहरु र वामपन्थी संगठनहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोधमा प्रदर्शन गर्दै आएका थिए । भारतीय प्रधानमन्त्री मोदी बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको निमन्त्रणामा दुई दिने भ्रमणका क्रममा शुक्रबार ढाका पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्