चिडियाखानाका हात्तीको आहाराका लागि मन्त्री आलेद्वारा रकम प्रदान



विमल विष्ट, काठमाडौँ ।

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले जावलाखेल स्थित सदर चिडियाखानामा रहेका हात्तिको आहाराका लागि आफ्नो व्यक्तिगत तर्फबाट रु एक लाख २५ हजार रकम प्रदान गर्नु भएको छ । वन तथा वातावरण मन्त्रालयमा आज चिडियाखानाका प्रमुख डा.चिरञ्जीबीप्रशाद पोखरेललाई मन्त्री आलेले उक्त रकम प्रदान गर्नु भएको हो ।

कोरोना भाइरस (कोभिड–१९) का कारण चिडियाखाना अवलोकन गर्न आउनेहरुको सङ्ख्यामा कमि भएको र जनावरलाई आहाराका लागि रकम समेत अभाब भएका कारण मन्त्री आलेले चिडियाखानाका हात्तिको आहाराका लागि उक्त रकम प्रदान गर्नु भएको उहाँका सरकारी निजी सचिब रविन ज्ञालनले जानकारी दिनुभयो ।

चिडियाखानामा रहेका जनावरका लागि आहाराका लागि समस्या भएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको २५ औँ वर्षको जयन्तीको अवसरमा चिडियाखानामा रहेका जनावरको आहारा र व्यवस्थापनका लागि ‘एडब्ड एनिमल’ भन्ने अभियान समेत सुरुवात गरेको थियो । उक्त अभियानलाई साथ दिनु हुँदै प्रधानमन्त्री केपीशर्मा ओलीले एकसिङ्गे गैँडाका लागि एक महिनाको आहाराका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको चिडियाखानाका प्रमुख डा.चिरञ्जीबीप्रशाद पोखरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोरोनाले चिडिया खाना बन्द भएपछि जनावरको आहारा व्यवस्थापनका लागि समस्या भयो, प्रधानमन्त्री ज्यु सहित २१ जनाले आहारा व्यवस्थापनका लागि आर्थिक सहयोग दिने प्रतिबद्धता जनाउनु भएको छ, रकम आउने क्रम जारी छ, जनावरको आहाराका लागि अब केही सहज हुने छ ।”

यसैगरी वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले चिडियाखानामा रहेका जनावरको आहारा तथा व्यवस्थापनका लागि अन्य क्षेत्रबाट पनि सहयोग जुटाउने प्रतिबद्धा समेत दिनु भएको छ । वन तथा वातावरण मन्त्री आलेले प्रदान गर्नु भएको रकमले हात्तिका लागि एक महिनाको खाना व्यवस्थापनमा निकै सहज हुने राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिब शरद अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “चिडियाखानाका जनावरको आहारा जुटाउनका लागि हामीलाई निकै समस्या भएको थियो, प्रधानमन्त्री तथा वन तथा वातावरण मन्त्री ज्यु सहित अन्य नागरिकहरुबाट रकम प्रदान भएपछि अहिले सहज हुने भएको छ ।”

प्रतिक्रिया दिनुहोस्