बर्साइन थन्डर्स र रुपनी राइडर्स विजयी



नेपाल समाचारपत्र, राजविराज  ।

सप्तरीमा जारी तेश्रो संस्करणको ‘राजविराज मेयर कप सप्तरी प्रिमियर लिग’ अन्तर्गत बिहीबार रुपनी राईडर्स र बोदे बर्साइन थन्डर्सले जित दर्ता गराएका छन् ।राज रंगशालामा सम्पन्न पहिलो खेलमा रुपनी राइडर्सले मेहबुब आलम कप्तानीको टीभीएस किंग्स राजविराजलाई ६ विकेटले पराजित गरेको हो ।

किंग्सले दिएको १ सय ६२ रनको लक्ष्य रुपनीले १६.२ ओभरमा ४ विकेट गुमाएर भेटायो । विजयी टिमका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ५२ रन बनाए । कुशलले ३३ बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए ।यस्तै, अमित यादवले ३१ बलमा ५ चौका र २ छक्का मद्दतले ४५ रन तथा लोकेश बमले १२ बलमा ४ छक्का र १ चौका प्रहार गर्दै अविजित ३५ रन बनाए । निरज मुखियाले २३ रन बनाए । किंग्सको बलिंगमा रोहित सिंह, दिनेश अधिकारी, सुरज कुर्मी र मेहबुब आलमले समान १ विकेट लिएका थिए ।यसअघि टस जितेर ब्याटिङ रोजेको किंग्स राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । किंग्सको लागि ओपनर सोनु अन्सारीले सर्वाधिक ४५ रन योगदान दिए । उनले ४० बलमा ८ चौका प्रहार गरेका थिए । त्यस्तै, सुरज कुर्मीले २७ रन, मेहबुब आलमले २३ रन जोडे । रुपनी राइडर्सको बलिंगमा लोकेश बमले सर्वाधिक २ विकेट लिए । यस्तै, फिर्दोश अन्सारी, सुनिल धमला, सुमित झा, अनिल यादव र अनुज कुमार यादवले समान १ विकेट लिए ।

दोश्रो खेलमा बर्साइन थन्डर्सले दीपेन्द्र ऐरी कप्तानीको तिलाठी कोइलाडी जायन्टलाई १ सय १ रनले पराजित गर्यो । बर्साइनले दिएको १ सय ८६ रनको लक्ष्यको जवाफमा तिलाठीले १४.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो । तिलाठीको लागि कप्तान दीपेन्द्र ऐरीले सर्वाधिक २७ रन तथा दीपेश कँडेलले १९ रन बनाए । यसपछि चित्रबहादुर विष्टले १२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बर्साइनका बलर विशाल सुश्लिंगले सर्वाधिक ४ विकेट, सिद्धान्त लोहनीले ३ विकेट, वसन्त रेग्मीले २ विकेट तथा नारायण जोशीले १ विकेट हात पारेका थिए ।यसअघि, टस जितेर ब्याटिङ गरेको बर्साइन थन्डर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । बर्साइनका कप्तान सिद्धान्त लोहनीले शतक बनाउने क्रममा ४९ बलमा १२ चौका र ६ छक्का प्रहार गरे । उनी २ सय रनमा नटआउट रहे ।

यसपछि अन्य ब्याटसम्यानले २० रन पनि कटाउन सकेका थिएनन् । तिलाठीको बलिङमा आदील अन्सारी र चित्रबहादुर विष्टले समान २ विकेट लिए । यस्तै, राशिद खान र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।पाँचौ दिनको खेल समाप्तिपछि लिग अंक तालिकामा रुपनी राइडर्स ४ खेलमा ३ जितपछि ६ अंक बटुल्दै पहिलो स्थानमा रहँदै फाइनलमा स्थान पक्का गरिसकेको छ । ३ खेल खेलेको खडक वारियर्स र ४ खेल खेलेको कोइलाडी जायन्टसको समान ४ अंक रहेता पनि नेट रन रेटमा वारियर्स दोश्रो र जायन्टस तेश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्