बेल्जियम र पोर्चुगल विजयी



लन्डन, (एजेन्सी)  ।

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रको छनोटअन्तर्गतको खेलमा बेल्जियम र पोर्चुगल विजयी भएका छन् ।बुधबार राति भएको समूह ‘ई’ को आफ्नो पहिलो छनोट खेलमा बेल्जियमले प्रभावशाली जितका साथ सुखद् सुरुआत गरेको हो । बेल्जियमले वेल्सलाई ३–१ ले पराजित गर्दै तीन अंक जोडेको छ । आफ्नो भूमिमा बेल्जियमलाई जिताउन तीन जना खेलाडीले गोल गरे । बेल्जियमले खेलमा पछि परेको स्थिति उल्टाएर खेल जितेको हो । पाहुना टोली वेल्सका लागि खेलको १०औं मिनेटमा ह्यारी विल्सनले गोल गरेर घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको २२औं मिनेटमा केभिन डे ब्रुयेनेले पहिलो गोल गरेर खेल बराबरीमा ल्याए ।

त्यस्तै, २८औं मिनेटमा बेल्जियमका थ्रोगान हाजार्डले गोल गरेर खेल २–१ बनाए । त्यसपछि बेल्जियमले खेलको ७३औं मिनेटमा पेनाल्टी पायो । यसपटक रोमेलु लुकाकुले पेनाल्टी प्रहार गर्दै बेल्जियमको जित ३–१ ले सुनिश्चित पारे । यो जितपछि बेल्जियम समूह ‘ई’ मा ३ अंक जोडेर दोस्रो स्थानमा छ । यसै समूहअन्तर्गत बुधबार राति नै भएको आफ्नो पहिलो खेलमा इस्टोनियामाथि ६–२ को फराकिलो गोलअन्तरको जित निकालेको चेक रिपब्लिक यस समूहको शीर्ष स्थानमा छ ।त्यस्तै, युरोपियन क्षेत्रको छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा डिफेन्डिंग च्याम्पियन पोर्चुगलले पनि कठिन जित निकाल्यो । पोर्चुगलले अजरबैजानलाई १–० को साँघुरो अन्तरले हरायो । इटालियन क्लब युभेन्ट्सको घरेलु मैदान युभेन्ट्स रंगशालामा भएको खेलमा पोर्चुगलले जितका लागि आत्मघाती गोलको मद्दत लिनुपरेको थियो । अजरबैजानले खेलको ३७औं मिनेटमा गरेको एक मात्र आत्मघाती गोलको मद्दतमा पोर्चुगलले १–० को जित निकालेको हो ।

केही मुख्य खेलाडीलाई बेन्चमा राखेर उत्रिएको पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो र बर्नान्डो सिल्भासहितका खेलाडीले सुरुआत गरे पनि थप गोल निस्कन सकेन । अब यो जितपछि पोर्चुगलले समूह ‘ए’ मा पहिलो खेलबाट तीन अंक जोडेको छ । बुधबार राति नै भएको आफ्नो पहिलो खेलमा आयरल्यान्डलाई ३–२ ले हराएको सर्बिया पनि तीन अंक नै जोडेर यस समूहको शीर्ष स्थानमा छ ।त्यस्तै, अर्को खेलमा बलियो नेदरल्यान्ड्सले भने नमिठो हार भोगेको छ । नेदरल्यान्ड्स घरेलु टोली टर्कीसँग ४–२ ले पराजित भयो । नेदरल्यान्ड्सलाई अप्रत्यासित हारको शिकार बनाउने क्रममा टर्कीका बुराक यिल्माजले ह्याट्रिक पूरा गरे । उनका लागि यो पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक समेत हो । टर्कीको घरेलु मैदानमा ४६औं मिनेटमै टर्कीले ३–० को अग्रता बनाएको थियो । टर्कीले खेलको ३४औं मिनेटभित्रै दुई गोल गरेर सहज अग्रता बनाएको थियो । टर्कीका लागि सुरुआती दुई वटैगोल बुराक यिल्माजले गरे । उनले पहिलो गोल खेलको १५औं मिनेटमा हेडिङमार्फत् गरेका थिए । त्यसपछि दोस्रो गोल पेनाल्टीमार्फत् ३४औं मिनेटमा गरे ।

बल लिएर डीबक्स भित्रबाट पुगेका टर्कीका खेलाडीलाई डच टोलीका डिफेन्डरले लडाएपछि रेफ्रीले सोझै टर्कीलाई पेनाल्टी दिएको थियो, जसमा बुराकले बललाई जाली चुमाए । पहिलो हाफमा २–० ले पछि परेको नेदरल्यान्ड्सले दोस्रो हाफ शुरू भएको ४० सेकेन्डमै तेस्रो गोल बेहो¥यो । यसपटक हाकानले लामो दूरीबाट गोल गरेर खेल ३–० बनाए । तर, ७५औं मिनेटपछि दुई मिनेटभित्र दुई गोल गर्दै डच टोलीले खेलमा फर्किने संकेत देखाएको थियो । खेलको ७५औं मिनेटमा नेदरल्यान्ड्सका लागि डेभी क्लासेनले गोल गरेर खेल ३–१ बनाए । लगत्तै अर्को मिनेटमा लुका डे जोङले डीबक्स भित्रबाट गोल गरेपछि खेल ३–२ भएको थियो । तर, त्यसपछि यील्माजले ह्याट्रिक पूरा गरे । खेलको इन्जुरी समयमा डच टोलीले पेनाल्टी पाएको थियो । तर, मेम्पिस डिपेको पेनाल्टी प्रहारलाई टर्किस गोलकिपरले सजिलै बचाएपछि नेदरल्यान्ड्स गोल अन्तर छोट्याउनबाट चुके । यो जितपछि समूह ‘जी’ मा रहेको टर्की पहिलो खेलबाट तीन अंक जोड्न सफल भएको छ ।त्यसैगरी, छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा विश्वविजेता फ्रान्स कमजोर टोली युक्रेनसँग निराशाजनक बराबरीमा रोकियो । समूह ‘डी’ को पहिलो खेलमै फ्रान्सले अपेक्षाकृत नतिजा निकाल्न सकेन ।

आफ्नो भूमिमा भएको खेलमा फ्रान्सले शुरुआती अग्रता लिए पनि दोस्रो हाफमा आफ्नो पोस्टमा आफैंले गोल गरेपछि स्पष्ट जितबाट चुक्यो । फ्रान्सका लागि एन्टोनी ग्रिजम्यानले खेलको १९औं मिनेटमा गोल गरेका थिए । उनले डी–बक्स बाहिरबाट शक्तिशाली प्रहारमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।तर, खेलको ५७औं मिनेटमा फ्रान्सले आफ्नो पोस्टमा आफैें गोल हान्यो । डिफेन्डर प्रेस्नल किम्पेम्बेलाई लाग्दै गोल भएको थियो । लामो दूरीबाट युक्रेनका खेलाडीले प्रहार गरेको सट फ्रान्सका गोलकिपरले रोके पनि छेउमै रहेका किम्पेम्बेलाई लाग्दै गोल भएको थियो । त्यसपछि खेलमा दुवै तर्फबाट थप गोल नभएपछि खेल १–१ मा टुंगियो ।बुधबार राति नै भएको खेलमा फिनल्यान्ड र बोस्नियाले पनि २–२ को बराबरी खेल्दै समान अंक बांडे । त्यस्तै, क्रोएसिया स्लोभेनियासग १–० ले पराजित भयो ।

तुलनात्मक रूपमा कमजोर टोलीविरुद्ध सन् २०१८ को उपविजेता क्रोएसियाले फितलो प्रदर्शन गर्दा नतिजा गुमाएको हो ।बुधबार राति नै भएका छनोट चरणको अन्य खेलहरूमा ग्रिबाल्टारलाई नर्वेले ३–० ले हराउँदा लात्भिया मोन्टेनेग्रोसँग २–१ ले पराजित भयो । त्यस्तै, रसियाले माल्टालाई ३–१ ले हराउँदा साइप्रस र स्लोभाकियाले गोलरहित बराबरी खेल्दै समान अंक बाँडे ।

प्रतिक्रिया दिनुहोस्