सम्पदा र संस्कृतिको प्रदर्शनी



सम्पदा र संस्कृतिका विविध विषय समेटिएका कलाकृतिको प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरीमा बबरमहलमा सम्पन्न भएको छ। साइकल्स अफ इम्पेर्मेन्स शीर्षकमा युवाकलाकार कविराज लामाले तयार पारेका प्रिन्टमेकिङ प्रदर्शनीमा इतिहासका विरासतलाई उधिनिएको थियो।

प्रदर्शित कलाकृतिमा समाजले बिर्सनै नसक्ने प्राकृतिक विपद्को घटना र उत्तरदायित्वलाई सचेततापूर्वक प्रस्तुत गरिएको थियो। कलाकार लामाले कलामार्फत समकालीन परिदृश्यमा भइरहेका विविध परिघटनाको सांस्कृतिक, बौद्धिक तथा सिर्जनात्मक अभिलेख गरेका थिए। २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसको पराकम्पले पारेको सामाजिक, सांस्कृतिक तथा मानवीय क्षतिको स्मरणलाई लामाले कलामार्फत प्रस्तुत गरेको बताए। उनले लामो समयसम्म यसको प्रभाव रहिरहने भएकाले कलामार्फत अभिलेख राख्ने कोशिस गरेको जिकिर गरे। ‘भूकम्प र त्यसले मानिस, समाज एवं सम्पदामा पारेको प्रभाव अर्थात् क्षतिलाई कलामा उतारेर इतिहासको एक प्राकृतिक विपद्लाई अभिलेखीकरण गर्ने जमर्को गरेको हुँ’, लामाले छापाचित्रणमार्फत नेपालीलाई झस्काइरहने, सम्झाइरहने भूकम्प र त्यसले पारेको त्रासदीपूर्ण क्षतिलाई चित्रण गरेको सुनाउँदै भने– ‘सांस्कृतिक सम्पदा मानिसका मौलिकताका प्रतीक हुन्। तिनको महत्वलाई विश्वमै चिनाउने कोशिस कलाकृति रचना गरें। सम्पदा सबै मानिसको साझा सम्पत्ति भएकाले तिनको संरक्षणप्रति हामी जागरुक बन्न सकौं भन्ने अभिप्रायले मैले कलाकृति रचना गरी प्रदर्शनी गरेको हुँ।’

केही कलामा ग्रामीण परिवेशका विषयलाई समेटिएको उनले जानकारी दिए। प्रदर्शनीमा राखिएका कलाकृति इचिङ, लिथोग्राफी र उडकटबाट तयार पारिएका थिए। तिनमा भूकम्पका कारण भग्नावशेष अवस्थामा पुगेका सम्पदा र तिनको पुनर्निर्माणको अवस्था देखाइएको थियो। नेपालमा प्रिन्टमेकिङ विधामा स्थापित कलाकार लामाले प्रदर्शनीमा राखिएका कला प्राकृतिक प्रकोपले निम्त्याएको विपत्तिको इतिहास रहेको विचार व्यक्त गरे। नेपाली प्रिन्टमेकिङ विधामा कविराजका कलाले समसामयिकपनलाई देखाउन सकेको नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशवराज खनालले बताए। प्रदर्शनीमा लामाले भूकम्पपछि सन् २०१८ मा सगरमाथा आधार शिविरमा तयार पारेका प्रिन्टकलासमेत थिए।

प्रतिक्रिया दिनुहोस्