सुदूरपश्चिममा क्षयरोगका बिरामी घटे



बैतडी, (नेस) ।

कोरोना भाइरस संक्रमणको जोखिमको डरले परीक्षण नहुँदा पछिल्लो समय बैतडीसहित सुदूरपश्चिम प्रदेशमा क्षयरोगका बिरामीको संख्या घटेको छ । प्रदेशभर गत आर्थिक बर्षमा २ हजार ७ सय ३५ जना क्षयरोगका बिरामी रहेको थिए । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म १ हजार २ सय ८२ जना क्षयरोगका बिरामी रहेका छन् ।

जसमा सबैभन्दा कैलाली जिल्लामा सबैभन्दा बढी ५ सय १ जना क्षयरोगका बिरामी रहेका छन् । यस्तै कञ्चनपुरमा ३ सय ४९, बैतडीमा ७४ जना, दार्चुलामा २५, बझाङमा ७५, बाजुरामा ५२, डडेल्धुरामा ६०, डोटीमा ८२ र अछाममा ६४ जना क्षयरोगका बिरामी रहेका छन् ।कोरोना भाइरसको जोखिमका कारण परीक्षण दर घटेपछि क्षयरोगका बिरामीको संख्या घटेको प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत मनोज ओझाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘गत आर्थिक वर्षमा कोरोनाको जोखिमका कारण क्षयरोगका बिरामीको परीक्षणदर घटेकाले यो वर्ष भने क्षयरोगका बिरामी बढ्ने अनुमान गरेका छौं ।’सुदूरपश्चिम प्रदेशमा क्षयरोगको उपचार सफलता दर ९० प्रतिशत रहेको छ भने ४ प्रतिशतले औषधि उपचार पूरा नगरी बीचमै औषधि छोड्ने गरेको पाइएको छ । यसले गर्दा क्षयरोगीमध्ये ५ प्रतिशतको मृत्यु हुने गरेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाएको छ ।

नेपाल सरकारले क्षयरोगका बिरामीहरुलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ भने निःशुल्क परीक्षणको व्यवस्थासमेत गरेको छ । २ हप्तामा वा लामो समयसम्म लगातार खोकी लागेमा, साँझपख हल्का ज्वरो आउनेलगायतका लक्षण भएमा क्षयरोग हुन सक्ने भएकाले नजिकको स्वास्थ्य संस्थामा चेकजाँच गराउन आग्रह गरिएको छ ।नियमितरूपमा औषधि सेवन गरेमा क्षयरोग पूर्णरूपमा निको हुने भएकाले यो विषयमा सबै जानकार हुनुपर्ने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्