होली खेल्न रोक, मास्क नलगाउनेलाई कारबाही हुने



नेपाल समाचारपत्र, बैतडी ।

छिमेकी मुलुक भारतमा कोभिड–१९ को प्रकोप थप सक्रिय भएकाले बैतडीमा होली खेल्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै होली खेल्न रोक लगाउनुका साथै घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न भनेको हो ।जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत खगेन्द्र भारतीद्वारा जारी विज्ञप्तिमा सतर्कता अपनाउन भनिएको छ । मास्क प्रयोग नगरेको पाइएका संक्रामक रोग ऐनबमोजिम कारबाहीसमेत गरिने सूचनामा उल्लेख गरिएको छ ।

भारतसँग सीमा जोडिएको जिल्ला भएकाले नाका भएर आउने नागरिकमा कोरोना संक्रमण हुन सक्ने भन्दै हेल्थ डेस्क सञ्चालन गरेर एन्टिजोन विधिमार्फत परीक्षण पनि गर्न थालिएको छ । साथै अभिलेख राखी आवत–जावतलाई व्यवस्थित बनाउन थालिएको छ ।कुनै पनि भीडभाड भएको ठाउँमा जानुपरेमा अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने, सेनिटाइजर प्रयोग गर्न सूचनामा भनिएको छ ।यसका साथै कोभिड–१९ संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालन आएका क्वारेन्टाइन, आइसोलेसन कक्षलाई तयारी अवस्थामा राखी स्वास्थ्य केन्द्रको सेवालाई थप प्रभावकारी बनाउन आवश्यक तयारी थाल्न भनिएको छ ।

विद्युतीय सञ्चारमाध्यमबाट कोभिडसम्बन्धी चेतनामूलक सन्देश प्रसारण गर्न भनिएको छ ।जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहलाई पनि सूचनामा उल्लेख कुराहरु पालना गराउन भनिएको छ ।बैतडीमा हालसम्म ६ सय ४२ जनामा कोरोना पुष्टि हुँदा २ जनाको मृत्यु भइसकेको छ । जिल्लामा हालसम्म १६ हजार बढीलाई कोरोना भाइरसविरुद्धको खोप (पहिलो डोज) दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्