भ्याटको दर समायोजन हुनुपर्ने माग



अमृत अर्याल, स्याङ्गजा ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले हाल कायम रहेको मूल्य अभिवृद्धि कर भ्याटको दर १३% हुँदा उपभोक्ताहरुलाई वस्तुको मूल्य महङ्गो हुन गई धेरै मार परेकोले यसको दरमा समायोजन हुनुपर्ने आशय व्यक्त गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले मू.अ.करको दरलाई ८% मा झार्नुपर्ने स्पष्ट अवधारणाकासाथ नेपाल सरकारसँग पैरवी गरिरहेको र यसमा सरकारको ध्यानाकर्षण हुनुपर्ने पौडेलले बताउनुभयो । अन्य मुलुकहरुमा मू.अ.करको दर वस्तु अनुसार फरक फरक भए पनि नेपालमा भने सबै वस्तुहरुमा एउटै दर हुनुले पनि उपभोक्ताहरु मारमा परेको पौडेलको भनाई छ । मदिरा व्यवसायी संस्था स्याङ्जाको दोस्रो वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै पौडेलले उक्त कुरा बताउनु भएको हो ।

पछिल्लो समय नेपाल सरकारले लागु गरेको भेहिकल एण्ड कन्साईनमेण्ट ट्रयाकिङ सिष्टम उद्योग वा भन्सारबाट सामान ढुवानी गर्दा मात्र लागु गरिनुपर्नेमा स्थानीय डिलरहरु तथा होलसेलरहरुबाट सामान ढुवानी गर्दा पनि अनिवार्य हुनुले ब्यवसायीलाई अनाश्यक झन्झट थोपरेको व्यावसायीहरुको गुनासो छ । भी.सी.टी.एस.मा समेत परिमार्जन गरिनुपर्ने र करको दायरा फराकिलो बनाई धेरै भन्दा धेरै उद्योगी ब्यापारी ब्यवसायीहरुलाई करको दायरामा ल्याउनुपर्ने भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष भक्त बहादुर केसीले बताउनुभयो । यसो गर्दा राजश्व सङ्कलनमा समेत वृद्धि भई समृद्ध मुलुक निर्माणमा सहयोग पुग्ने विचार केसीको छ ।

प्रतिक्रिया दिनुहोस्