सहज बैंकिङ सेवा पुर्‍याउन प्रदेश प्रमुखको जोड



जनकपुरधाम, (नेस)।

प्रदेश नम्बर २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित विभिन्न बैंकका प्रमुखसँग छलफल गर्नुभएको छ । मंगलबार आयोजित कार्यक्रममा प्रदेश प्रमुख डा.अहिराजले प्रदेश २ अविकसित नभई अव्यवस्थित रहेको भन्दै बैंकर्सहरुसँग जनतालाई बैंकमा सहज पहुँचको व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।

उहाँले प्रदेश नम्बर २ को गाउँ–गाउँमा बैंकको शाखा कार्यालय खोलिनुपर्ने बताउँदै भन्नुभयो–‘जनतालाई बैंकका लागि एक गाउँबाट अर्को गाउँमा जान नपरोस्, त्यसका लागि गाउँ–गाउँमा बैंकको स्थापना हुनुपर्छ ।’ बैंकले राष्ट्रिय उत्पादनलाई प्रोत्साहनका लागि विशेष भूमिका खेल्न सक्ने पनि औंल्याएका हुन् । उहाँले कुनै व्यापारीलाई ऋण दिँदा उसले विदेशबाट सामान ल्याएर बेच्ने तर आफ्नै किसानले उत्पादन गरेको वस्तु बजार नपाउँदा राष्ट्रिय उत्पादनप्रति किसानको मनोवल टुट्ने गरेको प्रति ध्यानाकर्षण गराएको प्रदेश २ प्रमुख कार्यालयका प्रोटोकल अधिकृत विशेष साहले जानकारी दिनुभयो । ‘

बैंकलाई कृषिसँग जोड्न सकियो भने किसान पनि समृद्ध हुने र देशले विकासमा ठूलो फड्को मार्न सक्छ ।’ प्रदेश प्रमुखले विचार राखेको प्रोटोकल अधिकृत साहले जानकारी दिनुभयो ।युवा शक्ति विदेशिनु परेकाले ती युवालाई स्वदेशमै रोक्नका लागि पनि बैंकिङ क्षेत्रले ठूलो योगदान दिनसक्ने औंल्याएका प्रदेश प्रमुख अहिराजले आफ्नै देशमा केही गर्न सक्ने युवा पैसाको अभावमा विदेशिनु परेको हुँदा त्यस्ता युवाशक्तिलाई बैंकले सहुलितमा ऋण उपलब्ध गराउनुपर्ने धारणा राख्नुभएको थियो । प्रमुख प्रमुख डा.अहिराजसँगको भेटघाटमा नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी, कृषि विकास बैंकका सीईओ अनिल कुमार उपाध्याय, नेपाल बैंकका सीईओ कृष्णबहादुर अधिकारी, नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहाललगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्