कविरको भन्दै छ मन



लम्फु नायक कविर खड्का भन्दै छ मन बोलको गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन्। प्रेम विछोडमा तड्पिएको चरित्र निर्वाह गरेका कविरलाई भिडियोमा मिहारिका आचार्यले साथ दिएकी छन्।

प्रसिद्ध चुडालको एकल गायन रहेको गीत चुडालले विरोध बुर्लाकोटीसँगको सहकार्यमा रचना गरेका हुन्। नायिका सारा सिरपालीसँग फिल्म गुञ्जन मार्फत आउन लागेका कविरले आफू फिल्म अभिनयमा नै लक्षित भए पनि भन्दै छ मन गीत मन परेकाले खेलेको बताए। ‘गीतको भाव र मर्मले मलाई पनि छोयो। गीतको भावलाई भिडियोमार्फत अझ सुन्दर कथा भन्न सकिन्छ भन्ने लागेरै खेल्न उत्साहित भएको हुँ।’ –कविरले भने।

गीतको म्युजिक भिडियो प्रवेश पौडेलले निर्देशन गरेका हुन्। अमेरिका ब्वाइज फिल्म निर्देशक प्रवेशको भन्दै छ मन पहिलो म्युजिक भिडियो निर्देशन हो। यसै महिनाको दोस्रो सातादेखि फिल्म बिहे पास फ्लोरमा लैजान लागेका निर्देशक पौडेलले मेकरका लागि फिल्म निर्देशन गर्नु र भिडियो निर्देशन गर्नु दुवै सिर्जनात्मक अभिव्यक्ति नै भएकाले करिअरमा खासै फरक नपर्ने बताए। काठमाडौं आसपास छायांकन गरिएको भिडियोलाई आलोक शुक्लाले खिचेका छन्। फिल्म छायांकार आलोकले पनि भन्दै छ मनबाटै पहिलोपटक म्युजिक भिडियोमा काम गरेका हुन्। नवीन निरौलाको सम्पादन रहेको गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्