सुदूरपश्चिमको अपराजित यात्रा कायमै 



नेपाल समाचारपत्र, बाँके ।

बागमती प्रदेशको धादिङ समाजलाई बराबरी रोक्दै सुदूरपश्चिमको स्टार सिटी युवा क्लब नेपालगञ्जमा जारी एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा कायमै रहेको छ ।

लगातार तीन खेल जितेको सुदूरपश्चिमले बागमतीसँग अन्तिम समयमा गोल गरेर १÷१ बराबरी गरेपछि लिगको शीर्ष स्थानमा यथावत रह्यो । प्रतियोगिताकै प्रतिस्पर्धात्मक खेलमा बागमतीले उमेश राईले ५३ मिनेटमा गरेको गोलमार्फत् अग्रता लिएको थियो ।बागमतीको छोटो र सुदूरपश्चिमको लामो पासले खेल रोमाञ्चित बनेको थियो । चार मिनेट थपिएको अतिरिक्त समयको ९२ मिनेटमा सुदूरपश्चिमका दीपेनराज सिंहले लामो फ्रिकिकमा गोल गरेपछि खेल बराबरीमा सकिएको हो । सिंहले प्रहार गरेको बल बागमतीका गोलरक्षक निशान थापामगरको हातबाट फुस्केर गोल भएको थियो । ‘म्यान अफ द म्याच’ बागमतीका अनिल तामाङ भए ।

योसँगै बागमतीले दुई जीत, एक हार र एक बराबरी खेलेको छ भने सुदूरपश्चिमले तीन जीत र एक बराबरी खेलेको छ । अर्को खेलमा १ नम्बर प्रदेशको झापाले लुम्बिनी प्रदेशको धम्बोझी क्लबलाई ३–२ गोलले पराजित गरेको छ । खेलमा अग्रता लुम्बिनीले लिएको थियो । पूर्णबहादुर गुरुङले पाँचौं मिनेटमै गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।एक गोलले पछि परेको प्रदेश १ ले आक्रमक खेल खेल्दै लगातार तीन गोल गरेको थियो । २० औं मिनेटमा सुनील खड्काले बराबरी गोल गरेका थिए । ३३ औं मिनेटमा सुशील लामाले टीमलाई २–१ को अग्रता दिलाए । ४८ औं मिनेटमा जीवन गुरुङले गोल गरेका थिए ।

आधा दर्जन बढी गोल गर्ने अवसर खेर फालेको लुम्बिनीका तर्फबाट ८०औं मिनेटमा बिसन गुरुङले पेनाल्टीमार्फत गोल गरेका थिए । खेलमा झापाका जीवन गुरुङ ‘म्यान अफ द म्याच’ भए । यो खेलमा रेफ्री प्रकाशनाथ श्रेष्ठले पाँच जना खेलाडीलाई पहेलो कार्ड देखाएका थिए ।
शुरुआती दुई खेल लगातार जितेको लुम्बिनी प्रदेशको धम्बोझी त्यसपछिको दुई खेलमा पराजित भएको छ । प्रदेश १ को झापाले एक जित, एक बराबरी र एक खेलमा पराजित भएको छ ।

प्रतिक्रिया दिनुहोस्