थ्री नेसन्समा नेपालको राम्रो प्रदर्शन गर्ने अपेक्षा



नेपाल समाचारपत्र, काठमाडौं ।

तीन देशको सहभागितामा हुने थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गर्ने अपेक्षा लिएको छ ।सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय टिमका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले नेपालले राम्रो प्रदर्शन गर्ने बताएका हुन् ।

महर्जनले खेलाडीहरू फिट रहेको अवस्थामा राम्रो प्रदर्शन गर्न सकेमा उपाधि जित्न सक्ने पनि बताए । विश्वकप २०२२ छनोट खेलका लागि खेलाडीहरूले अभ्यास गरेका छन् । तर, विश्वकप छनोट खेल कोरोनाको कारण स्थगित भएपछि यसको सट्टा थ्री नेसन्स कप आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा नेपाली टिमसहित बंगलादेशको राष्ट्रिय टिम र किर्गिस्तानको यु २३ टिमले सहभागिता जनाउनेछन् । आजबाट शुरू हुने प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् । नेपालले बिहीबार चैत १२ गते किर्गिस्तानसँग पहिलो खेल खेल्नेछ । नेपाली टिमको कप्तानी किरण चेम्जोङले गर्नेछन् । उनी आई लिगबाट फर्केर नेपाली टिमको नेतृत्व गर्ने प्रशिक्षक महर्जनले जानकारी गराएका छन् ।

प्रतियोगिताको फाइनल खेल चैत १६ गते हुनेछ । प्रतियोगिता विजेता टिमलाई ५ हजार अमेरिकी डलर र उपविजेता टिमलाई ३ हजार अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगितामा भिआईपीतर्फ १५ सय रुपैयाँ र साधारण प्यारापिटतर्फ ७ सय रुपैयाँ मूल्य तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्