वीर अस्पतालको २२ नम्बर बेडबाट नियाल्दा



गोकर्णप्रसाद भण्डारी

अधिकांश मान्छेको सोच धेरै समय बाँच्ने हुन्छ, बाँच्नका लागि विभिन्न खाले संघर्ष गरिरहेको हुन्छ । बाँच्ने आशाकै कारण ‘सास रहुन्जेल आश’ भनेझैँ अस्पतालको शय्यामा मृत्यु बोकेर छट्पटाउनु बाध्यात्मक परिस्थिति नै हो भन्ने लाग्छ मलाई । मृत्यु मानिसको यउटा अन्तिम विन्दु हो । मृत्यु चाहँदा पनि मानिसलाई सजिलै मृत्युले लिने रहेनछ । मृत्यु कसैको सहज होला, कसैको असहज । कसरी अस्पतालमा निम्न स्तरका नागरिकले दुःख पाएर मृत्युवरण गरिरहेका रहेछन् भनेर हेर्न नेपालको सरकारी अस्पताल वीर अस्पतालका बेडहरुमा गएर नियाल्दा फरक नपर्ला । मैले सोही अस्पतालमा करिब एक हप्ता बिताउँदा के देखेँ र के भोगेँ ? ती भोगाइहरुलाई संक्षिप्तरुपमा यहाँ पस्कने कोशिश गरिरहेको छु ।

वीर अस्पताल नेपालका माथिल्लो ओहोदामा रहेका र सर्वसाधारणको समेत उपचार हुने स्थान हो । यहाँ ठूलाबडा हुन् वा सर्वसाधारण, आफ्नो बिरामी निको भई फर्कन्छ भन्दै आशाहरु सजाएर बिरामी–कुरुवा भई बस्ने गर्छन् । यो अस्पतालको बेडमा बिरामीको कुरुवा भएर बसेको हैसियतले मैले जुन अवस्था देखेँ, यहाँ थोरै भए पनि सार्वजनिक गर्ने मात्रै मेरो प्रयास हो । पेइङ वार्डको २२ नम्बर बेडमा ६ रात बिताउँदा मैले जे देखेँ, निम्न स्तरका नागरिकले यहाँ जे भोगिरहेका छन्, ती सबै राम्रैसँग नियाल्ने अवसर मैले प्राप्त गरेँ । यहाँको बसाइ सुखद हुन सकेन । यो अस्पतालमा बसेर मैले मेरो र परिवारका लागि समेत कुनै सुखद नतिजा ल्याउन सकिन । अस्पतालमा पीडासहित आशाका कैयौं झोला बोकेर समय बिताएँ । हप्तादिन नबित्दै मेरो आशा निरासा र आँसुमा परिणत भयो ।

मैले मेरो बुबाको उपचारका लागि जुन आशा बोकेर अस्पतालको आँगन र बेडहरु चहारेको थिएँ, आखिर उपलब्धिविहीन हुन पुगेँ । यसबारेमा भनिसाध्य छैन । यउटा सामान्य नागरिक काठमाडौंको यो भीडमा कसरी हराउँदो रहेछ अनि यहाँका अस्पतालमा कसरी उपचार हुँदो रहेछ भन्ने भोगाइ मेरो जिन्दगीका लागि अति अविस्मरणीय रह्यो । बिरामी बाहिरबाट हेर्दा समान्य लाग्ने, हिँड्दै छ, खाँदै छ, बोल्दै छ, ठिक्कै होलाजस्तो लाग्छ । यो सामान्य परिवारको सदस्यले सोच्ने र भन्ने कुरा हो । मानिसका हरेक पार्टपुर्जा कसरी चलिरहेका छन् भन्ने प्राविधिक कुराचाहिँ मेडिकल पर्सनले हेर्ने र बुझ्ने कुरा हो । अस्पतालको बेडमा रहँदा एउटा बिरामीले आफ्ना परिवारका सदस्य र आफ्नो स्वास्थ्यका बारेमा अवश्य नै सोच्छ होला । तर त्यस सरकारी अस्पताल र त्यहाँ कार्यरत कर्मचारीहरुले सर्वसाधारण नागरिकलाई बिरामीको रुपमा नै नठान्नु अस्पतालको बाध्यता हो वा उनीहरुको आचरण ?

हजारौंको उपचार गर्ने वीर अस्पताल र हजारौं नागरिकलाई निको बनाएर घर पठाउने त्यहाँका स्वास्थ्यकर्मीका बारेमा मैले यो लेखिरहँदा मैलाई पनि नराम्रो महसुस भइरहेकै छ । वीर अस्पतालको लथालिंग अवस्था र त्यहाँका केही स्वास्थ्यकर्मीले गरेको व्यवहार हेर्दा शायद सरकारी अस्पताल नै यस्तै हुन्छ होला भनेर चित्त बुझाउनुबाहेक मसँग केही उपाय थिएन । वीर अस्पतालमा सामान्य बिरामीलाई यसो बोलिदिने मान्छे नभए उपचार गर्ने त कतै सम्भावना नै रहेनछ । सिरियस बिरामीलाई समेत उपचार गर्ने बेड नपाउनु अत्यन्तै दुःखद पक्ष हो । अस्पतालको व्यवस्थापन पक्ष वा प्रशासनिक निकाय वा सरकारी तबरले वीर अस्पतालमा जे भइरहेको छ, जे अवस्था छ, त्यो देखेर पनि शायद बुझ पचाएर बसेकाले नै अस्पतालको हालत यस्तो भइरहेको होला ।

इमर्जेन्सीबाट शुरु भएको मेरो अस्पतालको बसाइ यदि मेरो बोल्ने मान्छे कोही नभएको भए बेड नपाएर नै फर्कनुपर्ने थियो । वीर अस्पतालको बेडमा बिरामी निको पार्न लगिन्छ तर त्यहाँ त झनै बिरामी पो हुने रहेछ कि भन्ने महसुस बिरामी र बिरामी कुरुवाले महसुस गर्नु सामान्य कुरा हो भन्ने लाग्यो मलाई । वीर अस्पतालको शौचालयले त झनै बिरामी बनाऊला भन्ने लागेर म त्यहाँको शौचालय प्रयोग गर्न नसकी बाहिर जान्थेँ । बिरामी मेरो बुबा त त्यहाँ नै जानुको विकल्प थिएन । वीर अस्पतालको त्यो भीडभाडमा गएर बिरामीको उपचारका लागि बुझ्दा कुन रोगको बिरामी हो, त्यो रोगअनुसार कुन बार उपचार हुने भन्ने कुरा पनि चित्त बुझाउने देखिएन । आज फलानो रोगको डाक्टरको पालो हैन, आज फलानो डाक्टर बिदामा हुनुहुन्छ भन्नु अस्पताल प्रशासनको लाचारीपनबाहेक के हुन सक्छ र ? वीर अस्पतालमा गरिने ईसीजी, सिटी स्क्यानजस्ता परीक्षणहरु आज यहाँ हुँदैन, बिग्रेको छ, बाहिर जानुस् भन्नु पनि नागरिकमाथिको अन्याय नै हो भन्ने लाग्यो ।

अस्पतालको कोभिड वार्ड नयाँ भएकाले होला, केही स्तरीयता देखियो । अस्पतालभित्रको हालतले बिरामी त बिरामी भएका छन्, त्यहाँको व्यवस्थापन पनि बिरामी रहेछ भन्ने लाग्यो । यो वीर अस्पताल गरिब–दुःखीका लागि महत्वपूर्ण अस्पताल होला भन्ने त कल्पना मात्रै रहेछ । यहाँ पावरवालाहरुकै दबदबा चल्दो रहेछ । सस्तोमा उपचार हुने सरकारी अस्पताल भएर के गर्ने, बिरामीलाई नै बिरामीको व्यवहार गरिएन भने । यो अस्पताल सधैँ यस्तै हो ? भनेर मैले एकजना त्यहाँका कर्मचारीलाई सोधेँ । उनले भने, ‘यो त गगन थापा स्वास्थ्यमन्त्री हुँदा धेरै सुध्रेको पो रे !’ अब भन्नुस्, यो अस्पताल गगन थापा मन्त्री नहुँदाचाहिँ कस्तो हालतमा थियो होला ?

यो अस्पतालको हालतले देशभरका नागरिकको स्वास्थ्य उपचार गर्ने सरकारी अस्पतालहरु र त्यहाँका स्वास्थ्यकर्मीहरुको हालत कस्तो रहेछ भन्ने कुरा नियालिरहेको छ भन्ने लाग्यो मलाई । कहिले सुध्रेला सरकारी अस्पताल ? कहिले स्तरीय बन्ला वीर अस्पताल ? कहिले उपचार होला ती गरिब, निमुखा र असहाय नागरिकहरुको ? वीर अस्पतालको व्यवस्थापनलाई सामान्य प्रश्न– यो अस्पताल बिरामी भएजस्तो लाग्दैन ? यहाँ सबै नागरिकले सजिलै स्वास्थ्य उपचार पाएका छन् ? तपाईंहरुलाई लाज लाग्दैन ? सरकार ! यो अस्पताल सुधारे लाखौं नेपालीको स्वास्थ्य अवस्था सुध्रने हैन र ? यहाँका कर्मचारीहरु सरकारी तलब बुझ्ने मात्रै ?वीर अस्पताल बद्नामले मात्रै चिनिएको छैन, यसले आफ्नो नाम पनि कमाएको सुनिन्छ । नेपालको सरकारी अस्पताललाई बुझ्न सरकारी र निजी विद्यालयको अवस्थालाई नियाल्दा पनि पुग्ने रहेछ भन्ने वीर अस्पतालको बेडबाट अनुभव गरेँ मैले । जबसम्म राज्यका संयन्त्रहरु मजबुत हुँदैनन्, तबसम्म मुलुक र नागरिकको विकास हुन सक्दैन । थितिमा राज्यले गरेको लगानी बेथितिमा परिणत भयो भने यसले नतिजा कस्तो ल्याऊला ? स्वास्थ्य, शिक्षाजस्ता महत्वपूर्ण कुराहरु नै भद्रगोल भएपछि देशमा समृद्धि कहिले आऊला ? वीर अस्पताल त यउटा उदाहरण मात्रै हो, नेपालमा हामीले देखेका अधिकांश सरकारी स्वास्थ्य संस्थाको हालतले यहाँका स्वास्थ्य संस्थाहरु कस्ता छन् भन्ने कुराको बोध गराउँछ । सरकारी अस्पतालको विरोध गरेर निजीलाई प्रश्रय दिने उद्देश्य मेरो हैन ।

निजी अस्पताल त व्यापार हो, त्यही व्यापारलाई सहयोग गरिहरेको छ सरकारी अस्पतालले पनि ।सरकारी अस्पताल सुधार्न स्वास्थ्यकर्मी, व्यवस्थापन पक्ष र सरकारलाई नागरिकको तहबाट जिम्मेवार बनाऔं । सरकारी अस्पताल हामी तिरेको राजस्वबाट नै चलिआएको हो । त्यसैले यसको व्यवस्थापन र सञ्चालन मजबुत ढंगले गरौं । सरकारी अस्पतालमा सोर्सफोर्सले उपचार हैन, सामान्य नागरिकको उपचार पनि जिम्मेवार ढंगले गरौं ।

प्रतिक्रिया दिनुहोस्