बाख्रालाई ‘स्वीमिङ पुल’, अस्पताललाई ‘बाथिङ’



न्युज अफ नेपाल, हेटौंडा ।

पानीको प्रयोग गरेर नुहाउने तरिका फरक छन् । कोही खोलामा निर्वाध नुहाउन रुचाउँछन् त कोही घरको धारामा । नुहाएर शरीर सफा गर्ने तरिका पुरानै हो । तर समय, आबश्यकता र परिस्थितिले वाह्य शरीर सफा राख्ने मानिस र पशुको तरिका फरक बनाएका छन् ।

मानिसलाई नुहाउँदाका फाइदा छन्–छालाको इन्फेक्सनबाट मुक्ति, तौल कम गर्न, शरीरको क्यालोरी केही मात्रामा जल्नु, मोटोपनबाट मुक्ति, ‘मुड’ ठीक राख्नु र आरामदायी निद्रा । मकवानपुरमा खसीबाख्रालाई ‘स्वीमिङ पुल’ को व्यबस्था गरिँदा सिंगै घरलाई सातामा एकपटक नुहाउने गरिएको छ ।

उत्तरी मकवानपुरको चित्लाङमा सरकारी तवरबाट सञ्चालित बाख्रा विकास फार्ममा पालिएका बाख्रा र बोकाका लागि प्राविधिक दृष्टिले उपयोगी सुविधासम्पन्न ‘स्वीमिङ पुल’ बनाइएको छ । उक्त स्वीमिङ पुलमा त्यहाँका बाख्रा, बोका र पाठापाठीलाई वर्षमा तीनपटक स्वीमिङ खेलाउने गरिन्छ । ती चौपायाका शरीरबाट जुम्रा, किर्ना र उपियाँजस्ता वाह्य परजीवी हटाएर शारीरिक विकासमा सहयोग गर्न फरकफरक औषधीमिश्रित पानी राखिने स्वीमिङ पुलमा बाख्रा र बोकाहरुलाई चुर्लुम्म डुबाउने गरिएको हो ।

हेटौंडा अस्पतालको तरिका भने फरक देखिन्छ । भवनको पूरै भाग सातामा एकपटक नुहाएर आफूलाई मात्र होइन, त्यहाँ भर्ना भएर उपचाररत् बिरामी र उनीहरुका कुरुवालाई पनि फूर्तिलो बनाउन मद्धत गर्दै आएको छ । करिब साढे दुई वर्षअघिसम्म हेटौंडा अस्पतालमा सफाइ कर्मचारीले त्यति वास्ता गरेको देखिँदैन थियो । ‘हाकिम’ हरुले निर्देशन दिँदा पनि जुन ठाउँ सफा गर भनिएको हो, त्यही ठाउँमात्र केन्द्रित गर्दै कर्मचारीले सफाइ गर्दथे ।

अस्पताल सरसफाइ सम्बन्धमा धेरै गुनासा नआएका होइनन् । अस्पताल व्यबस्थापनले त्यस समयमा त्यति धेरै चासो देखाएन, जति सेवाग्राहीका गुनासा समाचार बन्थे । तर, हाल अस्पताल भवन मानवीय स्वास्थ्यका हिसाबले परिवर्तनशील अबस्थामा छ । अस्पताल भवनको एक सातामा ‘बाथिङ’ हुने गरेको छ । बिदाको मौका छोपेर वा शनिबार अस्पताल भवन पूरै सफा गरिँदै आएको हो ।

मेडिकल सुपरिटेन्डेण्टका रुपमा जब डा. प्रवीण श्रेष्ठ आउनुभयो, उहाँले अस्पतालको सातामा कम्तिमा एकपटक ‘वाथिङ’ कार्य नियम नै बनाएर लागु गर्नुभयो । करिब ६ सय लिटर पानीले अस्पताल पूरै नुहाइन्छ । अस्पतालका बिरामीको स्वास्थ्यलाई मध्यनजर गर्दै यस कार्य सुरु गरिएको डा. श्रेष्ठले बताउनुभयो ।

हरेक साता अस्पतालको छतदेखिबाट आँगनसम्म सफा गरिन्छ । यसो गर्नाले अस्पताल सफा रहने र बिरामीका लागि वातावरण स्वच्छ हुने डा. श्रेष्ठको भनाइ छ । पानीले मात्र होइन, अन्य तरिका पनि अपनाएर अस्पताल सफाइ गर्ने गरिएको उहाँले बताउनुभयो ।

अस्पतालको बाहिरी भागमात्र नभएर बिरामीकक्षहरुको पनि सफाइ हुने गरेको छ । शौचालय, फ्यान र भित्तामा रहेका माकुराका जालासमेत सातापिच्छे सफा गर्ने गरिएको डा. श्रेष्ठको कथन छ । अस्पतालले कुहिने, नकुहिने र मेडिकलजन्य फोहोरलाई छुट्टाछुट्टै विभाजन गरेर राख्ने व्यबस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्