कांग्रेस नेता जोशीको स्वास्थ्य लाभका लागि उग्रतारा मन्दिरमा पूजा



राम धामी, डडेल्धुरा ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्वमन्त्री नविन्द्रराज जोशीको स्वास्थ्य लाभको कामना गर्दै सुदूरपश्चिम प्रदेशकै प्रशिद्ध शक्तिपिठ मानिने डडेल्धुरास्थित उग्रतारा भगवतीको मन्दिरमा पूजा अर्चना गरिएको छ ।

अचानक मस्तिष्कघात भएपछि गत फागुन १४ गतेदेखि राजधानीस्थित नर्भिक अस्पतालमा उपचार गराईरहनु भएका नेता जोशीको सिघ्र स्वास्थ्य लाभको कामनासहित उग्रतारा मन्दिरमा संकल्पसहित सम्पुठित शप्तशति पाठ गरिएको नेपाली काँग्रेस डडेल्धुराका सभापति तथा सुुदूरपश्चिम प्रदेश सभाका साँसद कर्णबहादुर मल्लले बताउनु भयो ।

 

नेपाल शिक्षक संघ डडेल्धुराको २१ औं र २२ औं जिल्ला प्रतिनिधी सभाको समुद्घाटन गर्न डडेल्धुरा आईपुग्नु भएका नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्य, संबिधान सभा सदस्य समाजवादी नेता मनमोहन भट्टराईसहित नेपाली काँग्रेस डडेल्धुराका जिल्लास्तरीय नेता कार्यकर्ताहरुको सहभागितामा पूजा अर्चना गरिएको हो ।

नेता जोशीको पुख्यौली घर उग्रतारा मन्दिर नजिकैको तिलाडी गाँउमा छ । गम्भीर स्वास्थ्य अवस्थामा रहेका नेता जोशीको स्वास्थ्य अवस्थामा तत्काल सुधार आउने विश्वासका साथ पूजाअर्चना गरिएको नेपाली काँग्रेस डडेल्धुराका कार्यालय सचिव रामबहादुर बिष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्