विराटनगरमा पहिलोपटक रात्रिकालीन फुटबल



हरिहर नेपाल, विराटनगर ।

प्रदेश–१ को राजधानी विराटनगरमा पहिलोपल्ट रात्रिकालीन फुटबल प्रतियोगिता हुने भएको छ ।
यही चैत २६ गते साँझ ७ बजेदेखि विराटनगरको शहिद रंगशालामा रात्रकालीन विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको हो । आयोजक समितिले प्रदेश सरकारको लगानीिमा सहिद रंगशालामा फ्रल्र्डलाइट जडानको कार्य सम्पन्न भएसँगै रात्रिकालीन गोल्डकपको आयोजना गर्न लागिएको जनाएको छ । गोल्डकप चैत २६ देखि शुरू भएर वैशाख ४ गते समापन हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

गोल्डकपमा नेपाल, भारत र क्यामरुनबाट कुल १० वटा टिमको सहभागिता हुनेछ । आउँदो विराट गोल्डकपमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खेलाडीहरु पनि सहभागी गराउने उद्देश्यले यसपटक विराटनगर–११ बाट पनि टिम तयार भइरहेको आयोजक समितिले जनाएको छ । यसका लागि लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन विराटनगर महानगरपालिकाले गरेको विराट गोल्डकप फुटबल ट्रष्ट आयोजक समिति विराटनगरका संयोजक मनोजविक्रम शाहले जानकारी दिनुभयो ।

एन्फाको नियमानुसार सञ्चालन हुने खेलमा विजेता टिमलाई १५ लाख १५ हजार र उपविजेतालाई ७ लाख ५१ हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ । ‘म्यान अफ द म्याच’ हुने खेलाडीलाई पनि प्रत्येक म्याचमा १५ हजार नगद पुरस्कारको व्यवस्था मिलाइएको आयोजक समितिले जानकारी दिएको छ ।

यस्तै, प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई मोटरसाइकलसहित पदक प्रदान गर्ने योजना तय भएको आयोजक समितिका संयोजक शाहले बताउनुभयो । उहाँले प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता र व्यवस्थापकसमेतलाई २५–२५ हजार नगर पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो । प्रतियोगिता अवधिमा रंगशाला वरिपरि हुने भीडमा अवांछित गतिविधि नियन्त्रण गर्ने उद्देश्यले त्यस क्षेत्रमा ३५ वटा सीसीटीभी क्यामेरामार्फत प्रत्यक्ष निगरानीको व्यवस्था गरिएको आयोजकले समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्