गोपी र सन्तोषीलाई उपाधि



नेपाल समाचारपत्र, काठमाडौं  ।

एपीएफ क्लबका गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो संस्करणको वीर गणेशमान सिंह टेन–के रोड रेस प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार बिहान आयोजना भएको प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषीले उपाधि जितेका हुन् । गोपी र सन्तोषी लगातार दोस्रोपटक उपाधि जितेका हुन् । दुवै खेलाडीले पहिलो संस्करणको उपाधि पनि जितेका थिए ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता गोपीले निर्धारित दूरी ३१ मिनेट ४४.४९ सेकेन्डमा पूरा गरे । गोपीले अघिल्लो संस्करणमा आफैंले बनाएको ३२ मिनेट ०१.२ सेकेन्डको कीर्तिमान तोडेका थिए । नयाँ कोर्स रेकर्ड बनाएका उनले थप १० हजार रुपैयाँ प्राप्त गरे । उपाधिसँगै गोपीले ६० हजार नगद पुरस्कार पाए ।पुरुषतर्फ अनिष थापामगर ३१ मिनेट ५०.४९ सेकेन्डकाका दोस्रो भए । तीर्थ पुनले ३१ मिनेट ५६.३८ सेकेन्डको समय निकाल्दै तेस्रो स्थान हासिल गरे । यस्तै, गजेन्द्र थापा चौंथो र नरेन्द्र रावत पाँचौं भए । दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौं हुने खेलाडीले पाँच हजार नगद पुरस्कार प्राप्त गरे । यस्तै रामजी बस्नेत छैटौं, जितेन्द्र दनुवार सातौं, नरेश बुढा आठौं, सन्तोषविक्रम विष्ट नवौं र टंक कार्कीले १०औं स्थान हासिल गरे ।

उनीहरू सबैले चार हजार बराबरको गिफ्ट ह्याम्पर पाए ।यसैगरी, १३औं सागकी स्वर्णधारी सन्तोषीले निर्धारित दूरी ३७ मिनेट ५३ः४४ सेकेन्डमा पूरा गरिन् । उपाधिसँगै सन्तोषीले ६० हजार नगद प्राप्त गरिन् । सन्तोषीले अघिल्लो संस्करणमा निर्धारित दूरी ३९ मिनेट १०.९८ सेकेन्डमा पूरा गरेकी थिइन् । अघिल्लो संस्करणको भंग गरेकी सन्तोषीले थप १० हजार रुपैयाँ प्राप्त गरिन् ।महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाई ३९ मिनेट ३०.० सेकेन्डका दोस्रो भइन् । एपीएफकी फूलमती राना ४० मिनेट ५६.० सेकेन्डका साथ तेस्रो भइन् । यस्तै, पूर्णलक्ष्मी न्यौपाने चौथो र बिर्सना कुमालले पाँचौं स्थान हात पारे ।

दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौं हुनेले पाँच हजार नगद पुरस्कार प्राप्त गरे । यसैगरी, आशा राउत छैटौं, सरस्वती बोहरा सातौं, बन्दना राई आठौं, निर्मला राई नवौं र कागज विष्टले १०औं स्थान हात पारे । उनीहरू सबैले चार हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरे ।वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजना र रुट्स फेसनको मुख्य प्रायोजनमा भएको रोड रेस शेर्पा मल दरबारमार्गबाट शुरू भएर सोही स्थानमा समापन भएको थियो । विजेता खेलाडीलाई पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्